राप्रपा प्रमुख सचेतक खुस्बु ओलीको अपिल : ‘मेरो अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम नफैलाऔँ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले आफ्नो पुरानो अभिव्यक्तिलाई तोडमोड गरी अहिलेको बाढी तथा विपद्को संकटसँग जोडेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले केही समयअघि तराई घटनाको सन्दर्भमा आफूले ‘ड्रोन उडाएर मात्रै समस्याको समाधान हुँदैन, राजनीतिक उपाय चाहिन्छ’ भनेर बोलेको विषयलाई अहिलेको बाढी संकटसँग जोडेर ‘बाढीमा ड्रोन चाहिँदैन’ भन्ने अर्थमा प्रचार गर्नु गैरजिम्मेवार र निन्दनीय भएको बताएकी छन्।
उनले फरक प्रसङ्गमा दिएको अभिव्यक्तिलाई अहिलेको विपद्सँग जोडिनु राजनीतिक प्रतिशोधबाहेक केही नभएको दाबी गरेकी छन्। देश ठूलो पीडामा रहेका बेला सामाजिक सञ्जालमार्फत भ्रम, घृणा र विभाजन फैलाउने प्रवृत्ति दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
ओलीले राजनीतिक असहमति आफ्नो ठाउँमा भए पनि विपद्लाई राजनीतिक प्रतिशोधको माध्यम नबनाउन आग्रह गरेकी छन्। विपद्को समयमा सबैले मानवीय संवेदना र सहयोगको भावना देखाउनुपर्नेमा जोड दिँदै उनले भनेकी छन्, “राम्रो गर्न सकिँदैन भने केही नगरौँ, तर नराम्रो पनि नगरौँ।”
उनले अहिलेको समय राजनीति गर्ने नभई मानवता देखाउने समय भएको बताउँदै विपद् प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा केन्द्रित हुन सबैलाई आग्रह गरेकी छन्।