NRNA NCC USA को आर्थिक पारदर्शितामाथि प्रश्न, महेन्द्र बस्नेतको टिप्पणीले बढायो चर्चा

theoutsidenepal.com

NRNA NCC USA को आर्थिक पारदर्शितामाथि प्रश्न, महेन्द्र बस्नेतको टिप्पणीले बढायो चर्चा

काठमाडौं। नेपाली जनसम्पर्क समिति अमेरिका (PRCA) का नेता तथा नेपाली कांग्रेसका युवा नेता एवं समाजसेवी महेन्द्र बस्नेतले गैरआवासीय नेपाली संघ (NRNA NCC USA) को आर्थिक व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले वर्तमान पदाधिकारीहरूले यही शैलीमा संघको कोष खर्च गरिरहे आगामी एक वर्षभित्र भर्जिनियामा रहेको NRNA भवनसमेत लिलामीमा पुग्न सक्ने दाबी गरेका छन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, “NRNA NCC USA का पदाधिकारीहरूले यही रफ्तारमा कोष रित्याउँदै गए भने आगामी एक वर्षभित्र भर्जिनियामा रहेको NRNA भवनलाई पनि लिलामी राख्न बेर लाग्दैन। उल्फाको धन फुपुको श्राद्ध भनेको यही हो रहेछ।”

बस्नेतको उक्त अभिव्यक्तिपछि NRNA NCC USA को आर्थिक पारदर्शिता, कोष परिचालन तथा संस्थागत उत्तरदायित्वबारे सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ।

यद्यपि, बस्नेतले उठाएका आरोपप्रति NRNA NCC USA का पदाधिकारीहरूको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। यस विषयमा संघको धारणा प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।


प्रतिक्रिया