माइनिची शिम्बुनको विश्लेषण : बालेन्द्र शाह सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चामा

theoutsidenepal.com

टोकियो/काठमाडौँ — जापानको प्रतिष्ठित राष्ट्रिय दैनिक माइनिची शिम्बुनले नेपालमा हुनलागेको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै र्‍यापर तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर **बालेन्द्र शाह (बालेन)**लाई सम्भावित प्रधानमन्त्रीका रूपमा उल्लेख गरेको छ।


समाचारमा नेपालमा जेन्जी युवापुस्ताको नेतृत्वमा विकसित राजनीतिक आन्दोलनपछि आगामी ५ तारिख आमनिर्वाचन हुन लागेको पृष्ठभूमि प्रस्तुत गरिएको छ। सरकारी भ्रष्टाचार, उच्च बेरोजगारी र राजनीतिक अस्थिरताप्रति बढ्दो असन्तुष्टिका कारण अघिल्लो सरकार पतन भएको विश्लेषण गरिएको छ।


गत वर्ष सामाजिक सञ्जालमाथि लगाइएको नियन्त्रणको विरोधमा विशेषगरी युवाहरू सडक आन्दोलनमा उत्रिएको र आन्दोलन चर्किँदै जाँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिन बाध्य भएको उल्लेख गरिएको छ।


सन् २०२२ मा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन्द्र शाहले यस वर्ष मेयर पदबाट राजीनामा दिई राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) मा प्रवेश गरेको समाचारमा जनाइएको छ। रोजगारी सिर्जना, सुशासन र आर्थिक सुधारलाई प्राथमिक एजेन्डा बनाएको उक्त दलले विशेषगरी युवामाझ व्यापक समर्थन प्राप्त गरिरहेको उल्लेख गरिएको छ।


माइनिची शिम्बुनका अनुसार, युवापुस्ताको बलियो समर्थन र परिवर्तनको नारासँगै बालेन्द्र शाह आगामी सरकारको नेतृत्व गर्न सक्ने सम्भावित व्यक्तित्वका रूपमा उभिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत नेपालको निर्वाचनलाई चासोका साथ हेरिरहेको संकेतका रूपमा यो समाचारलाई विश्लेषण गरिएको छ।


प्रतिक्रिया