काठमाडौँ — गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को १२ औँ एकताको महाधिवेशनबाट प्रवीण गुरुङ उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। उनको चयनसँगै विश्वभर रहेका नेपाली समुदायमा उत्साह, भरोसा र सकारात्मक ऊर्जा थपिएको छ।
उपाध्यक्ष जस्तो गरिमामय जिम्मेवारीमा चयन भएसँगै गुरुङले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले प्राप्त विश्वास, माया र समर्थनलाई केवल पद नभई ठूलो जिम्मेवारी र प्रेरणाको रूपमा लिएको बताएका छन्।
गुरुङले एकताको महाधिवेशनले दिएको सन्देशलाई आत्मसात गर्दै विश्वभरका नेपालीहरूको हित, एकता र प्रगतिका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन्। “यहाँहरूको साथ, सहयोग र विश्वास नै मेरो शक्ति हो,” उनले भने, “आगामी दिनहरूमा अझ बढी निष्ठा, इमान्दारी र समर्पणका साथ अघि बढ्नेछु।”
उनको नेतृत्वमा एनआरएनएभित्र संस्थागत सुदृढीकरण, पारदर्शिता र विश्वभर रहेका नेपालीबीच सहकार्य अझ सशक्त हुने अपेक्षा गरिएको छ। विशेष गरी युवा नेतृत्व, लगानी प्रवर्द्धन र आपसी सम्बन्ध विस्तारमा गुरुङको सक्रिय भूमिका रहने विश्वास गरिएको छ।
प्रवीण गुरुङको यस ऐतिहासिक सफलतापछि विभिन्न देशमा रहेका नेपाली समुदाय, सामाजिक अभियन्ता तथा संस्थाहरूबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ।