झापा। झापा–५ का प्रतिनिधिसभा उम्मेदवार तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली हिजो आयोजित पब्लिक डिबेट कार्यक्रममा सहभागी भएका छन्। विभिन्न उम्मेदवारहरू एकै मञ्चमा बसेर नागरिकका सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता र जवाफदेहिताको अभ्यास भएको उनले उल्लेख गरेका छन्।
ओलीले सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रियामा चुनावलाई “नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व” का रूपमा व्याख्या गर्दै उम्मेदवारहरू नागरिकभन्दा टाढा बस्ने, वास्तविक अनुहार लुकाउने र सुटिङ गरेर तयार गरिएका सामग्रीमार्फत मतदातालाई भ्रमित गर्ने परिपाटी अन्त्य हुनुपर्ने बताए।
उनले आफूहरूले उठेका प्रश्नहरूको निरन्तर उत्तर दिँदै आएको उल्लेख गर्दै आलोचना र विरोधलाई पनि स्वीकार गर्ने संस्कार अपनाएको दाबी गरे। “कतिपय प्रश्नमा आत्मालोचना गरेर सुधार गर्ने प्रयास गरेका छौँ, प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेका छैनौँ,” उनले भनेका छन्।
डिबेट आयोजना गर्ने आयोजक, सहभागी उम्मेदवार तथा नागरिकलाई धन्यवाद दिँदै ओलीले आगामी दिनमा पनि नागरिककै साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
उनको सन्देशको अन्त्यमा लेखिएको छ— “प्रश्न सोधौँ, एमाले रोजौँ।”