दीपककुमार साह उद्योगमन्त्री बन्ने तयारी, आजै शपथको सम्भावना

theoutsidenepal.com

दीपककुमार साह उद्योगमन्त्री बन्ने तयारी, आजै शपथको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्ने तयारी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले साहलाई उद्योगमन्त्री नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिएको हो।

प्रधानमन्त्रीको सचिवालयले आजै शपथ गराउने तयारी गर्न राष्ट्रपति कार्यालयलाई जानकारी गराएको बताइएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथका लागि सूचना आए पनि औपचारिक रूपमा नाम भने प्राप्त भइसकेको छैन।

साह यसअघि जनमत पार्टीमा आबद्ध थिए। पार्टीभित्रको विवादपछि उनी जनमतबाट निष्कासित भएका थिए। त्यसपछि उनले जनस्वराज पार्टी गठन गरेका थिए। पछिल्लो २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**बाट उम्मेदवार बनेर सुनसरी–४ बाट निर्वाचित भएका थिए।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेकी गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएकी थिइन्। पछिल्लो समय ग्यास अभाव र आपूर्ति व्यवस्थापनलाई लिएर मन्त्री यादवको आलोचना बढ्दै गएको थियो।

यादवको राजीनामापछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले साहलाई दिने तयारी गरेका हुन्। नियुक्ति र शपथसँगै साहले उद्योग, व्यापार तथा आपूर्ति व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्। 


प्रतिक्रिया