नेपाली जनसम्पर्क समिति अमेरिकाको उपाध्यक्षमा बिष्णु खत्रीको उम्मेदवारी, एकता र जवाफदेहितालाई प्राथमिकता दिने प्रतिबद्धता
भर्जिनिया, अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिका (NPRCA) को आगामी निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार बिष्णु खत्रीले संस्थालाई अझ एकताबद्ध, सक्रिय, प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकामा रहेका नेपाली समुदायको साझा आवाजलाई थप सशक्त बनाउन आफू उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँदै खत्रीले प्रवासमा रहेका नेपालीहरूको भावना, आवश्यकता र अपेक्षालाई संस्थागत रूपमा सम्बोधन गर्न इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।
खत्रीले भनेका छन्, “प्रवासमा रहेका नेपालीहरूको साझा आवाजलाई बलियो बनाउन, संस्थागत एकता कायम गर्न र जनसम्पर्क समितिलाई अझ सक्रिय तथा प्रभावकारी बनाउन इमानदारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि संस्थालाई अझ बलियो बनाउने अभियानका रूपमा अघि बढाउने बताएका छन्। नेपाली समुदायबीच आपसी सहकार्य, एकता, सेवा र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै जनसम्पर्क समितिलाई नयाँ ऊर्जा र प्रभावकारी नेतृत्व प्रदान गर्ने उनको दाबी छ।
पोस्टरमार्फत खत्रीले आफ्नो अभियानको मूल भावनाका रूपमा “Unity, Service & Commitment” अर्थात् एकता, सेवा र प्रतिबद्धतालाई अघि सारेका छन्। साथै, “Together, Let’s Build a Stronger, United & Accountable NPRCA” भन्ने नारासहित बलियो, एकताबद्ध र जवाफदेही नेपाली जनसम्पर्क समिति निर्माणको संकल्प प्रस्तुत गरिएको छ।
तेस्रो राष्ट्रिय सम्मेलनमा उपाध्यक्षका उम्मेदवार
नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन तथा अधिवेशन आगामी अगस्ट १४, १५ र १६, २०२६ मा अमेरिकाको भर्जिनियास्थित Hilton Fairfax, 12777 Fair Lakes Circle, Fairfax, VA 22033 मा आयोजना हुँदैछ।
सोही सम्मेलनको निर्वाचन प्रक्रियामा खत्रीले उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन्।
उनको चुनावी अभियानले एकताको संकल्प, सेवाको भावना र समृद्ध प्रवासी नेपाली समुदाय निर्माणलाई मुख्य आधार बनाएको देखिन्छ। संगठनभित्र सहकार्य र पारदर्शिता बढाउँदै नेपाली डायस्पोराका मुद्दालाई प्रभावकारी रूपमा उठाउने उनको प्रतिबद्धता छ।
खत्रीले आफूलाई विश्वास, साथ र अमूल्य मत प्रदान गर्न सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकहरूसँग आग्रह गर्दै आफ्नो उम्मेदवारीलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
“यहाँहरूको विश्वास, साथ र अमूल्य मत मेरो लागि ठूलो शक्ति हुनेछ,” भन्दै खत्रीले नेपाली जनसम्पर्क समिति अमेरिकालाई अझ सशक्त, जिम्मेवार र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
एकता, सेवा र प्रतिबद्धतालाई अभियानको मूल आधार बनाएका खत्रीको उम्मेदवारीले यसपटकको नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचनमा थप चासो र चर्चा बढाएको छ।