काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं क्षेत्र नं. २ मा नेकपा (एमाले) का उम्मेदवार मणिराम फुयाँलको घरदैलो अभियानले तीव्रता पाएको छ। टोल–टोल, घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका फुयाँललाई स्थानीयवासीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनका प्रचार संयोजकले बताएका छन्।
घरदैलो अभियानका क्रममा फुयाँलले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी व्यवस्थापन र युवा रोजगारीलाई प्राथमिकतामा राख्दै स्पष्ट कार्ययोजना प्रस्तुत गरिरहेका छन्। उनले “समृद्ध काठमाडौं–२, सुरक्षित भविष्य” को नारासहित स्थिर राजनीति र सुशासनमार्फत विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय बृद्धबृद्धा, महिला समूह, युवा क्लब तथा व्यवसायीहरूसँगको भेटघाटमा फुयाँलले विगतका अनुभव र संगठनात्मक मजबुतीलाई आधार बनाएर क्षेत्रको विकासलाई नयाँ उचाइमा पुर्याउने दाबी गरेका छन्। विशेषगरी युवामाझ उनको सक्रियता र स्पष्ट धारणा आकर्षणको केन्द्र बनेको देखिन्छ।
काठमाडौं–२ मा पछिल्लो समय एमालेको संगठनात्मक गतिविधि बढ्दो छ। चुनावी माहोल दिनप्रतिदिन तातिँदै जाँदा फुयाँलको पक्षमा जनलहर सिर्जना भइरहेको स्थानीय कार्यकर्ताहरू बताउँछन्। सामाजिक सञ्जालदेखि चोकचौराहासम्म उनको समर्थनमा अभियानहरू सक्रिय देखिन्छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, काठमाडौं–२ मा यसपटक प्रतिस्पर्धा कडा भए पनि फुयाँलको निरन्तर घरदैलो, जनसम्पर्क र स्पष्ट एजेन्डाले उनलाई बलियो प्रतिस्पर्धीको रूपमा उभ्याएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा काठमाडौं–२ मा चुनावी सरगर्मी थप बढ्ने अनुमान गरिएको छ। फुयाँलले भने, “जनताको विश्वास नै मेरो शक्ति हो, परिणामले त्यो देखाउनेछ,” भन्दै जितप्रति आशावादी रहेको बताएका छन्।