काठमाडौँ – लायन्स अन्तर्राष्ट्रिय अन्तर्गतको डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। विभिन्न विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिमा सम्पन्न महाधिवेशनले नेतृत्व चयनसँगै सेवा र समर्पणको भावनालाई अझ सुदृढ बनाएको छ।
महाधिवेशनबाट लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा तारा भुसाल निर्वाचित हुनुभएको छ। त्यस्तै, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा तेजनारायण पराजुली तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा मन कृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ।
कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बाल कृष्ण बुर्लाकोटी को प्रमुख आतिथ्यता रहेको थियो। साथै सञ्जय खेतान, डिष्ट्रिक्ट गभर्नर एकनारायण शर्मा, गंगा देवी ढकाल, आईडी इन्डोर्स तथा एलसीआईएफ संयोजक राजन लम्साल, जीएटी क्षेत्रीय संयोजक शम्भु प्रसाद घिमिरे, जीएमटी संयोजक मनि श्री रत्न बज्राचार्य लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
महाधिवेशनको व्यवस्थापन लायन्स क्लब अफ काठमाडौँ शुभ आरम्भ ले सुदृढ रूपमा सम्पन्न गरेको थियो। होस्ट क्लबले सहभागी सदस्यहरूका लागि आयोजना गरेको ३० भन्दा बढी लक्की ड्र पुरस्कारले कार्यक्रममा थप उत्साह थपेको थियो, जसका कारण कार्यक्रमस्थल खचाखच भरिएको थियो।
नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर तारा भुसालले महाधिवेशनले सेवा, समर्पण र नेतृत्वको भावनालाई अझ मजबुत बनाएको बताउँदै कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण लायन्स लिडर, सदस्य तथा होस्ट क्लबप्रति आभार व्यक्त गर्नुभयो। साथै, महाधिवेशनले सिर्जना गरेको ऊर्जा, एकता र प्रतिबद्धताका साथ आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।