रास्वपाको महाधिवेशन प्रक्रियालाई सभ्य, भव्य र सन्देशमूलक बनाउन रवि लामिछानेको आह्वान
काठमाडौं, जेठ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane ले पार्टीको पहिलो महाधिवेशन प्रक्रियालाई सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनाउन सम्पूर्ण नेता–कार्यकर्ता तथा सदस्यहरूलाई आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै लामिछानेले वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै जिल्ला अधिवेशनहरू पार्टीको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको बताएका छन्।
उनले अधिवेशन र महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति, राजनीतिक संस्कार र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताए। पार्टीको सर्वोपरि हितका लागि सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गरिनुपर्नेमा जोड दिएका छन्।
सभापति लामिछानेले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै पुराना राजनीतिक प्रवृत्ति, पदको मोह र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले पार्टीभित्र योगदानको हिसाब–किताब खोज्ने वा पदोन्नतिको अपेक्षालाई स्थायी मानक बनाउने प्रवृत्ति संगठनका लागि हितकर नहुने बताएका छन्।
उनले पार्टीको वर्तमान अवस्था केही व्यक्तिको प्रयासले मात्र नभई मतदाताको विवेक, सदस्यहरूको समर्पण र पुराना–नयाँ पुस्ताको संयुक्त योगदानबाट सम्भव भएको उल्लेख गरे। अब रास्वपाको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई देशको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको उनको भनाइ छ।
लामिछानेले पार्टी विस्तार र संगठन सुदृढीकरणका क्रममा व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै “अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ” भन्ने सन्देश दिएका छन्।
उनले रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रियाले नेपाली राजनीतिमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई सफल अधिवेशनको शुभकामना दिएका छन्। “जय घण्टी” भन्दै उनले आफ्नो सन्देश टुंग्याएका छन्।