दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा, आईजीपीमा पुनर्बहालीको मागसहित रिट दायर गर्ने

theoutsidenepal.com

दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा, आईजीपीमा पुनर्बहालीको मागसहित रिट दायर गर्ने

काठमाडौं, कात्तिक १९ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै सर्वोच्च अदालत जाने तयारीमा जुट्नुभएको छ।

कार्की आजै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने तयारीमा रहनुभएको छ। आईजीपी पदमा पुनर्बहालीको मागसहित अदालत जाने विषयमा उहाँले बुधबार कानुन व्यवसायीहरूसँग परामर्शसमेत गर्नुभएको थियो।


मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएपछि उक्त निर्णयको संवैधानिक तथा कानुनी वैधतामाथि प्रश्न उठाउँदै उहाँले सर्वोच्च अदालतको ढोका ढकढक्याउन लाग्नुभएको हो।

सरकारले कार्कीलाई पदमुक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ। यस्तै, कार्कीका लागि नयाँ पद सिर्जना गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी तोकिएको छ।


कार्कीले रिट दायर गरेमा प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी सरकारको निर्णय न्यायिक परीक्षणको विषय बन्नेछ। सर्वोच्च अदालतले गर्ने फैसलाले सरकारको निर्णयको कानुनी वैधता र कार्कीको पुनर्बहालीसम्बन्धी विवादको निरूपण गर्नेछ।

प्रतिक्रिया