ग्वाङझाउ घोषणापत्र कार्यान्वयनको दस्तावेज बन्नुपर्छ : वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले चीनको ग्वाङझाउमा सम्पन्न ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनबाट जारी २१ बुँदे ग्वाङझाउ घोषणापत्र–२०२६ लाई विश्वभर रहेका नेपालीको हित र नेपालको समृद्धिसँग जोड्ने महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
“Rising Together, Leading Forward” भन्ने मूल नारासहित सम्पन्न ‘आरोहण २०२६’ सम्मेलन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै शेरचनले घोषणापत्रमा उठाइएका विषयलाई कागजमा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले ग्वाङझाउ घोषणापत्रले विश्वभर रहेका गैरआवासीय नेपालीका अधिकार, पहिचान, नागरिकता, मताधिकार, पीएनओ तथा गोर्खा सरोकार लगायतका विषयलाई प्राथमिकताका साथ समेटेको बताए। विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा सहभागी गराउने व्यवस्था, गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त अधिकारको सहज कार्यान्वयन तथा ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनाअनुसार वंशजको नागरिकताको सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत पहल गर्न घोषणापत्रले नेपाल सरकारलाई आग्रह गरेको छ।
१० अर्बको एनआरएन डेभलपमेन्ट फण्डदेखि डायस्पोरा बण्डसम्म
शेरचनका अनुसार नेपालको आर्थिक विकासमा विश्वभर छरिएर रहेका नेपालीको पूँजी, सीप र अनुभवलाई व्यवस्थित रूपमा परिचालन गर्ने विषय घोषणापत्रको अर्को महत्वपूर्ण पक्ष हो।
१० अर्ब रुपैयाँको नेपाल एनआरएन डेभलपमेन्ट फण्ड, सामूहिक लगानी तथा आईपीओ प्रक्रियालाई अघि बढाउने, पूर्वाधार तथा निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने र डायस्पोरा बण्डमार्फत ठूलो पूँजी परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखिएको उनले बताए।
उनले डायस्पोरालाई केवल रेमिट्यान्स पठाउने समुदायका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणका साझेदार र लगानीकर्ताका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे।
नेपाली उत्पादनदेखि पर्यटन र वैदेशिक रोजगारसम्म प्राथमिकता
ग्वाङझाउ घोषणापत्रले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउने, पर्यटन, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ।
त्यस्तै, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगार, श्रमिकको सामाजिक सुरक्षा, विदेशमा रहेका नेपाली श्रमिकका लागि सेल्टर, सीपमूलक तालिम, नेपाली दूतावास तथा श्रम सेवाको विस्तार र डिजिटल सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा समेत घोषणापत्रले जोड दिएको छ।
विदेशमा रहेका नेपाली महिलाको नेतृत्व र उद्यमशीलता विकास तथा दोस्रो पुस्ताका नेपालीलाई भाषा, संस्कृति, पहिचान, ज्ञान र सीपमार्फत नेपालसँग जोड्ने विषयलाई पनि महत्वपूर्ण रूपमा अघि सारिएको शेरचनले बताए।
‘घोषणापत्र प्रतिबद्धतामा मात्र सीमित हुनुहुँदैन’
एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचनले ग्वाङझाउ घोषणापत्रलाई अब कार्यान्वयनको दस्तावेज बनाउनुपर्ने स्पष्ट धारणा राखेका छन्।
नेपाल सरकार, राजनीतिक दल, सरकारी निकाय, निजी क्षेत्र र डायस्पोराबीच सहकार्य तथा समन्वय गरेर घोषणापत्रमा समेटिएका विषयलाई क्रमशः कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ। साथै, भएका कामको नियमित समीक्षा गर्दै उपलब्धि र प्रगतिलाई सार्वजनिक गर्नुपर्नेमा समेत उनले जोड दिएका छन्।
यसबीच, आगामी १२औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन एनआरएनए राष्ट्रिय समन्वय परिषद् लाओसको आयोजनामा गर्ने निर्णय भएको छ।
सम्मेलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने एनआरएनए एसिया प्यासिफिक क्षेत्रका संयोजक दीपक कँडेल, एनसीसी चीन तथा आयोजक समितिका पदाधिकारी एवं सदस्यहरू, प्रमुख अतिथि, विशिष्ट अतिथि, सांसदहरू, नेपाल सरकारका प्रतिनिधि, एनआरएनएका संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा प्रतिनिधि, व्यवसायी, विज्ञ, महिला तथा युवा प्रतिनिधि, सञ्चारकर्मी, प्रायोजक, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति शेरचनले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
‘विश्वभरका नेपालीको सामूहिक शक्ति, सीप, पूँजी र अनुभवलाई नेपालको समृद्धिसँग जोड्नु साझा जिम्मेवारी हो,’ शेरचनले भनेका छन्।
ग्वाङझाउमा सम्पन्न सम्मेलनले एनआरएनएको एजेन्डालाई अधिकार र पहिचानदेखि लगानी, रोजगारी, पर्यटन, युवा, महिला तथा संस्थागत सुधारसम्म फराकिलो बनाउँदै डायस्पोरा र नेपालको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गरेको उनको धारणा छ।