काठमाडौं । लोकप्रिय गायिका रचना रिमालले युवा तथा खेलकूद मन्त्री बब्लु गुप्तासँग भएको आकस्मिक भेटलाई सकारात्मक र अर्थपूर्ण भएको बताएकी छन्। पोखराबाट काठमाडौं आउँदै गरेको उडानका क्रममा मन्त्री गुप्तासँग भेट भएपछि उनले लामो समयदेखि मनमा राखेको विषय साझा गर्ने अवसर पाएको बताएकी छन्।
रिमालका अनुसार, उनले महिला फुटबल र महिला क्रिकेटलाई फ्रेन्चाइज मोडलमा सञ्चालन गर्न सकिए अझ प्रभावकारी र व्यावसायिक बन्ने धारणा मन्त्रीसमक्ष राखेकी थिइन्। मन्त्री गुप्ताले उक्त सुझावलाई सकारात्मक रूपमा लिएको र गम्भीरतापूर्वक विचार गर्ने संकेत दिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।
उडानको छोटो यात्रामै भए पनि नेपाली खेलकुदको वर्तमान अवस्था र सम्भावनाबारे संवाद गर्न पाएकोमा आफू खुसी भएको रिमालले बताएकी छन्। उनले समय दिएर आफ्ना कुरा सुनेकोमा मन्त्री गुप्ताप्रति धन्यवादसमेत व्यक्त गरेकी छन्।
सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूबाट खेलकुदको विकासका लागि यस प्रकारका सुझाव आउनुले महिला खेलकुदलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।