कैलालीकी २४ वर्षीया पुष्पा शाही रसुवाको बाढीपछि सम्पर्कविहीन
रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कैलालीको धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन भएकी छन्।
परिवारका अनुसार शाही बिहीबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। उनी एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको रसुवास्थित वेत्रावती शाखामा कार्यरत रहेको बताइएको छ।
भोटेकोशीमा आएको बाढीका कारण शाही कार्यरत लघुवित्तको शाखा कार्यालयमा समेत ठूलो क्षति पुगेको जनाइएको छ। शाखा आसपासको क्षेत्रमा बाढीले व्यापक क्षति पुर्याएपछि शाहीको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ।
शाहीसँग सम्पर्क हुन नसकेपछि परिवार चिन्तित बनेको छ। परिवारले सम्बन्धित सुरक्षा निकाय, प्रशासन तथा उद्धार टोलीलाई तत्काल खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले पुष्पा शाहीको अवस्थाबारे यथाशीघ्र जानकारी प्राप्त हुने परिवारको अपेक्षा छ।
द टन न्युज | रसुवा बाढी | खोज तथा उद्धार अपडेट
#RasuwaFlood #Bhotekoshi #PushpaShahi #Dhangadhi #HelpPost