५७ अपाङ्गता भएका बालबालिकाको आश्रय संकटमा, सहयोगका लागि तिलबहादुर कार्कीको अपिल

theoutsidenepal.com

५७ अपाङ्गता भएका बालबालिकाको आश्रय संकटमा, सहयोगका लागि तिलबहादुर कार्कीको अपिल

काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रले अपाङ्गता भएका तथा अति विपन्न क्षेत्रका ५७ बालबालिकालाई स्वास्थ्य, शिक्षा, आवास तथा दैनिक जीवनयापनका आवश्यक सेवा प्रदान गर्दै आएको जनाएको छ। तर नियमित तथा दिगो आम्दानीको स्रोत नहुँदा संस्थाको आश्रयस्थल नै संकटमा परेको छ।

केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले उत्तरी क्यालिफोर्नियास्थित निलकृष्ण–जशोदा सिटौला फाउन्डेसनका ईश्वर सिटौलालाई पत्र पठाउँदै संस्थालाई सहयोग गर्न आग्रह गरेका छन्।


पत्रमा संस्थाले हालसम्म व्यक्ति, विभिन्न संघसंस्था, उद्योगी तथा कम्पनीबाट प्राप्त सहयोग र घरदैलो अभियानमार्फत संकलित रकमबाट बालबालिकाको हेरचाह गर्दै आएको उल्लेख छ। तर बालबालिका बस्ने जग्गा तथा भवनको एक वर्षदेखिको भाडा बक्यौता रहेको र घरधनीले पटक–पटक भाडा नतिरे आश्रयस्थलबाट हटाउन सक्ने चेतावनी दिएको जनाइएको छ।

केन्द्रले विभिन्न जिल्लाका दुर्गम क्षेत्रबाट आएका बालबालिकालाई आश्रय दिँदै आएको छ। पछिल्लो समय भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकालाई समेत केन्द्रमा ल्याएर संरक्षण दिइरहेको पत्रमा उल्लेख छ।

अध्यक्ष कार्कीले बालबालिकाको भविष्य र आश्रयस्थल जोगाउन सहयोग आवश्यक रहेको भन्दै फाउन्डेसन तथा सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि अपिल गरेका छन्।

पत्रमार्फत गरिएको यो अपिलले विपद् र अभावका बीच संरक्षणको आवश्यकता रहेका बालबालिकाको अवस्थाप्रति थप ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया