विकास र विश्वासको प्रतीक: चितवन–२ मा मिना खरेल प्रति बढ्दो जनसमर्थन

theoutsidenepal.com

चितवन,६ फागुन ।चितवन क्षेत्र नम्बर–२ मा यतिबेला चुनावी माहोल दिनानुदिन तातेको छ। यसैबीच सक्रिय, स्पष्ट वक्ता र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने नेतृका रूपमा चिनिएकी मिना खरेल प्रति मतदाताको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको देखिन्छ। घरदैलो अभियान, टोलभेला तथा अन्तरक्रिया कार्यक्रममा उनको उपस्थिति उत्साहजनक देखिएको छ।

खरेलले चितवन–२ का २८ वटै वडाका स्थानीय समस्या, आवश्यकता र सम्भावनाबारे आफू जानकार रहेको बताउँदै आएकी छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण र युवा रोजगारीलाई प्राथमिकतामा राख्दै उनले समग्र विकासको स्पष्ट खाका प्रस्तुत गरेकी छन्। स्थानीयवासीहरू भन्छन्— “हामीलाई भाषण होइन, काम गर्ने प्रतिनिधि चाहिएको छ।” यही सन्देशलाई आत्मसात गर्दै खरेलले विकासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

चितवन–२ मा महिला नेतृत्वको सशक्त उपस्थिति आवश्यक रहेको आवाज उठिरहेका बेला मिना खरेलको उम्मेदवारीलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका मुद्दा उठाउँदै आएकी छन्।

उनले स्थानीय स्तरमा स्वास्थ्य सेवा विस्तार, सामुदायिक विद्यालयको स्तरोन्नति, सीपमूलक तालिम केन्द्र स्थापना र स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राख्ने योजना सार्वजनिक गरेकी छन्।

युवासँग प्रत्यक्ष संवाद गर्दै डिजिटल पारदर्शिता, स्टार्टअप प्रवर्द्धन र कृषि–उद्यमशीलतामा लगानी बढाउने प्रतिबद्धताले युवापुस्तालाई आकर्षित गरेको छ। चुनावी अभियानमा युवा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता देखिनु खरेलप्रतिको समर्थनको संकेत मानिएको छ।

“समृद्ध चितवन–२, सशक्त जनता” भन्ने नारासहित खरेलले समावेशी विकास र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्ने बताएकी छन्। उनले जनताको विश्वास जितेर पारदर्शी, जवाफदेही र परिणाममुखी नेतृत्व दिने प्रतिबद्धता दोहोर्‍याएकी छन्।

चुनावी मैदानमा उत्साह, ऊर्जा र सकारात्मक माहोलबीच मिना खरेललाई अत्यधिक बहुमतले विजयी गराउने अभियान तीव्र बन्दै गएको छ। स्थानीय बासिन्दाहरूले विकास र स्थायित्वका लागि सक्षम नेतृत्वको आवश्यकता औंल्याउँदै उनको पक्षमा खुलेर समर्थन जनाइरहेका छन्।

प्रतिक्रिया