काठमाडौं । चुनावी माहोल तातिँदै जाँदा सामाजिक सञ्जालमा “मासु–भात” लाई लिएर भइरहेको होहल्ला र आरोप–प्रत्यारोपप्रति नेपाली कांग्रेस का युवा नेता लोकनाथ अधिकारीले आपत्ति जनाएका छन्। उनले खानपान व्यक्तिगत र सांस्कृतिक विषय भएको उल्लेख गर्दै त्यसलाई आधार बनाएर राजनीतिक बहसको स्तर गिराउनु लोकतान्त्रिक संस्कार विपरीत भएको बताएका छन्।
अधिकारीले लोकतन्त्रमा बहस हुनुपर्ने विषय भिजन, नीति र व्यवहारिक योजना भएको स्पष्ट पारे। “कुन दलसँग देशको अर्थतन्त्र उकास्ने स्पष्ट मार्गचित्र छ? कसले युवालाई रोजगारी दिने ठोस योजना ल्याएको छ? कसले सुशासन र संस्थागत सुधारको साहस देखाएको छ? यी प्रश्न सोध्ने र जवाफ माग्ने संस्कार नै सच्चा लोकतन्त्र हो,” उनले भने।
उनका अनुसार परिवर्तन केवल नाराले होइन, परिपक्व निर्णय र संस्थागत मजबुतीबाट सम्भव हुन्छ। उनले नेपाली कांग्रेस अनुभव र सुधारको संकल्पसहित अघि बढिरहेको दाबी गर्दै मतदातालाई भावनात्मक होइन, भविष्यकेन्द्रित निर्णय गर्न आग्रह गरे।
अधिकारीले विशेष रूपमा गगन कुमार थापा जस्तो स्पष्ट विचार, अन्तर्राष्ट्रिय अनुभव र सुधारको साहस बोकेको नेतृत्व आजको आवश्यकता रहेको उल्लेख गरे। “ऊर्जा, नीति–केन्द्रित राजनीति र जवाफदेहिताको अभ्यासले देशलाई स्थायित्व र स्पष्ट दिशा दिन सक्छ,” उनले भने।
सामाजिक सञ्जाललाई गाली–गलौजको मैदान होइन, विचार आदान–प्रदानको सभ्य चौतारी बनाउनुपर्नेमा जोड दिँदै अधिकारीले परिवारसँग बसेर पढ्न–सुन्न सकिने शालीन संवादको अभ्यास गर्न आग्रह गरे।
अन्त्यमा उनले मतदातालाई भोज वा भावना होइन, देशको भविष्य, गाउँ–समाज र आगामी पुस्ताको हितलाई केन्द्रमा राखेर मतदान गर्न आह्वान गर्दै नेपाली कांग्रेस लाई जिताउन र गगन कुमार थापा लाई प्रधानमन्त्री बनाउन साथ दिन अपिल गरेका छन्।