काठमाडौं । पाटन अस्पतालका नेपाली मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही अमेरिकास्थित द म्याक्स फाउण्डेसन (The Max Foundation) को ग्लोबल थिंक ट्यांकको सदस्यमा नियुक्त भएका छन्।
यस नियुक्तिसँगै न्यून तथा मध्यम आय भएका मुलुकहरूमा क्यान्सर उपचारको पहुँच विस्तार, नीति निर्माण तथा बिरामी–केन्द्रित कार्यक्रम विकासमा नेपालको प्रतिनिधित्व अझ मजबुत हुने डा. शाहीले बताएका छन्।
डा. शाही लामो समयदेखि नेपालमा क्यान्सर उपचार सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय रहँदै आएका छन्। आफ्नो नियुक्तिप्रति प्रतिक्रिया दिँदै उनले भने,
“यो नियुक्ति मेरो लागि ठूलो सम्मान हो। यस प्लेटफर्ममार्फत नेपालको अनुभव विश्वसँग बाँड्ने र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू नेपालमा भित्र्याउने प्रयास गर्नेछु।”
द म्याक्स फाउण्डेसनले विश्वका ७० भन्दा बढी देशमा क्यान्सर बिरामीलाई उपचार तथा औषधिको पहुँचमा सहयोग गर्दै आएको छ। नेपालमा भने यस संस्थाले पछिल्लो २० वर्षभन्दा बढी समयदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल मार्फत १४ प्रकारका क्यान्सरसम्बन्धी औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ।
डा. शाहीको यो नियुक्तिलाई नेपालको क्यान्सर उपचार क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान र सहकार्य विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।