सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूको आकस्मिक बैठक आह्वान

theoutsidenepal.com

काठमाडौँ, २१ वैशाख २०८३ — संघीय संसद्को गतिविधि र समसामयिक राजनीतिक परिस्थिति थप संवेदनशील बन्दै गइरहेका बेला डोलप्रसाद अर्याल ले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूको महत्वपूर्ण बैठक आह्वान गरेका छन्।

सभामुख अर्यालका अनुसार आज मध्यान्ह १२ बजे सिंहदरबार मा बस्ने उक्त बैठकलाई पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा संसद्को प्रभावकारी सञ्चालनका लागि निर्णायक मानिएको छ।

सभामुखका प्रमुख स्वकीय सचिव मुना कुँवरले दिएको जानकारीअनुसार, बैठकमा सत्ता पक्ष र विपक्षबीच बढ्दो असमझदारी, विधेयकहरूमा भइरहेको ढिलाइ, तथा जनचासोका विषयहरूमा साझा धारणा निर्माण गर्ने उद्देश्य राखिएको छ। पछिल्ला दिनहरूमा संसद् अवरुद्ध हुने, दलहरूबीच आरोप–प्रत्यारोप चुलिने तथा नीति निर्माणमा ढिलाइ हुने प्रवृत्ति देखिँदै आएको सन्दर्भमा यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिनिधि सभामा हाल नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूको उपस्थिति रहेको छ।

विशेषगरी सत्ता–विपक्षबीच बढ्दो राजनीतिक ध्रुवीकरण, सरकारका कामकारबाहीप्रति उठिरहेका प्रश्न, तथा जनतासँग प्रत्यक्ष जोडिएका मुद्दाहरूलाई सम्बोधन गर्ने विषयमा साझा समझदारी कायम गर्न सभामुखको यो पहललाई महत्वपूर्ण कदमका रूपमा विश्लेषण गरिएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार, यदि यस बैठकबाट ठोस सहमति र समन्वयको बाटो ननिस्किए संसद्को आगामी बैठकहरू पनि प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले आजको छलफलले नेपालको संसदीय राजनीति कुन दिशातर्फ अघि बढ्छ भन्ने संकेत दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया