१७औँ एनआरएनए युरोपेली क्षेत्रीय बैठक डब्लिनमा, नागरिकता र लगानी सहजीकरणलाई प्राथमिकता दिन वरिष्ठ उपाध्यक्ष रोविन शेरचनको आग्रह
‘डायस्पोरालाई लगानी गर्न आग्रह मात्र होइन, लगानी गर्न सक्ने वातावरण निर्माण गरौँ’
द टन न्युज ॥ डब्लिन
आयरल्यान्डको डब्लिनमा जारी १७औँ एनआरएनए युरोपेली क्षेत्रीय बैठकमा गैरआवासीय नेपालीका नागरिकता, अधिकार, लगानी, रोजगारी तथा नेपालसँगको आर्थिक सम्बन्धका विषयलाई प्राथमिकताका साथ उठाइएको छ।
बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले युरोपमा रहेका नेपाली डायस्पोरालाई नेपालको सामाजिक–आर्थिक विकासको महत्वपूर्ण रणनीतिक साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिएका छन्।
शेरचनले युरोपका विभिन्न देशमा ३ लाख ५० हजारभन्दा बढी नेपाली बसोबास गरिरहेको उल्लेख गर्दै नेपाली समुदाय संख्या मात्र नभई ज्ञान, सीप, प्रविधि, व्यवसाय, उद्यमशीलता र अन्तर्राष्ट्रिय सञ्जालका दृष्टिले समेत नेपालको महत्वपूर्ण शक्ति भएको बताए।
उनले भने, “डायस्पोरालाई नेपालमा लगानी गर्न आग्रह मात्र नगरौँ; लगानी गर्न सक्ने वातावरण निर्माण गरौँ।”
उनका अनुसार युरोपमा रहेका नेपालीसँग नेपाललाई आवश्यक पर्ने मानव पूँजी, वित्तीय स्रोत, ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जालको ठूलो सम्भावना छ। त्यसलाई संस्थागत रूपमा परिचालन गर्न सके नेपालमा रोजगारी सिर्जना, उत्पादन वृद्धि, प्रविधि हस्तान्तरण, उद्यमशीलता विकास तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेखनीय योगदान पुग्ने उनको भनाइ छ।
नागरिकता र अधिकारका विषय तत्काल सम्बोधन गर्न आग्रह
वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले विदेशमा रहेका नेपालीले भोगिरहेका नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, सम्पत्तिसम्बन्धी अधिकार, लगानी सुरक्षा तथा प्रशासनिक जटिलता समाधान गर्न नेपाल सरकारसँग आग्रह गरे।
उनले डायस्पोराका समस्या केवल विदेशमा रहेका नेपालीका समस्या नभई नेपाल र डायस्पोराबीचको दीर्घकालीन सम्बन्ध, आर्थिक साझेदारी र राष्ट्रिय विकाससँग प्रत्यक्ष जोडिएका विषय भएको बताए।
“विदेशमा बस्दैमा नेपाली मूलसँगको सम्बन्ध समाप्त हुँदैन। हाम्रो पहिचान, भावना र नेपालसँगको आर्थिक तथा सामाजिक सम्बन्धलाई कानुनी र संस्थागत रूपमा सहज गरिनुपर्छ,” उनले भने।
सरकारसँग आफूहरूको आग्रह आलोचनाका लागि नभई सहकार्य र समाधानका लागि भएको उल्लेख गर्दै शेरचनले लामो समयदेखि उठ्दै आएका नागरिकता, अधिकार तथा लगानीसम्बन्धी विषयलाई अब अनिश्चितकालसम्म लम्ब्याउन नहुने धारणा राखे।
डायस्पोरा फण्डमार्फत पूँजीलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने प्रयास
एनआरएनए ट्रेड एन्ड इन्भेस्टमेन्ट विभागका अध्यक्ष तथा डायस्पोरा फण्डका निर्देशकसमेत रहेका रोविन शेरचनले विश्वभर रहेका नेपालीमा नेपालमा लगानी गर्ने ठूलो इच्छा र क्षमता रहेको बताए।
तर इच्छालाई वास्तविक लगानीमा रूपान्तरण गर्न नीतिगत स्थिरता, सरल कानुनी प्रक्रिया, लगानी सुरक्षा र सरकारप्रतिको विश्वास आवश्यक रहेको उनको भनाइ छ।
उनले NRN Development Fund र Diaspora Fund जस्ता संस्थागत संरचनालाई अघि बढाइएको जानकारी दिँदै यी फण्डको उद्देश्य केवल पूँजी संकलन गर्नु नभई उत्पादनमूलक लगानी, रोजगारी सिर्जना, उद्यमशीलता, प्रविधि हस्तान्तरण, नवप्रवर्तन तथा दिगो आर्थिक विकासमा डायस्पोराको सहभागिता बढाउनु रहेको बताए।
नेपाल सरकारले स्पष्ट र एकीकृत डायस्पोरा लगानी फ्रेमवर्क निर्माण गर्नुपर्ने, प्रक्रिया सरल तथा पारदर्शी बनाउनुपर्ने र अनावश्यक प्रशासनिक अवरोध हटाउँदै लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
पर्यटनदेखि प्रविधिसम्म युरोपेली डायस्पोराको ठूलो सम्भावना
शेरचनले युरोपमा रहेका नेपालीको सम्भावना लगानीमा मात्र सीमित नरहेको बताए। पर्यटन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, हरित अर्थतन्त्र, नवप्रवर्तन तथा ज्ञान हस्तान्तरणका क्षेत्रमा समेत युरोपेली नेपाली समुदायको भूमिका महत्वपूर्ण हुन सक्ने उनको भनाइ छ।
“युरोपमा रहेका नेपालीहरू नेपालका स्वाभाविक आर्थिक र सांस्कृतिक राजदूत हुन्,” भन्दै उनले एनआरएनएको विश्वव्यापी नेटवर्कलाई नेपाल प्रवर्द्धनका लागि रणनीतिक रूपमा परिचालन गर्नुपर्ने बताए।
दोस्रो पुस्तालाई नेपालसँग जोड्नुपर्नेमा जोड
एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचनले युरोपमा हुर्किरहेको नेपाली नयाँ पुस्तालाई नेपालसँग जोड्नु अर्को महत्वपूर्ण जिम्मेवारी भएको बताए।
विश्वस्तरीय शिक्षा, सीप, प्रविधि र अन्तर्राष्ट्रिय अनुभव हासिल गरिरहेको दोस्रो पुस्तालाई केवल नेपाली संस्कृति संरक्षण गर्ने पुस्ताका रूपमा नभई ज्ञान, नवप्रवर्तन, उद्यमशीलता र लगानीमार्फत नेपालसँग जोडिने भविष्यका साझेदारका रूपमा विकास गर्नुपर्ने उनले बताए।
‘अब छलफल होइन, कार्यान्वयन आवश्यक’
शेरचनले एनआरएनएले नागरिकता, लगानी, श्रम, अधिकार तथा डायस्पोरा सम्बन्धी विषयमा लामो समयदेखि छलफल गर्दै आएको भन्दै अब छलफललाई नीति, नीतिलाई कार्ययोजना र कार्ययोजनालाई परिणाममा बदल्नुपर्ने समय आएको बताए।
उनले युरोप एनआरएनएका लागि चुनौतीको क्षेत्र मात्र नभई ठूलो अवसरको क्षेत्र भएको उल्लेख गर्दै चुनौतीलाई समाधान र सम्भावनालाई परिणाममा रूपान्तरण गर्नुपर्ने बताए।
‘विगतका तिक्तता छोडेर एकताबद्ध बनौँ’
सम्बोधनको महत्वपूर्ण पक्षका रूपमा शेरचनले एनआरएनएको आन्तरिक एकतामा समेत जोड दिए।
एनआरएनए अग्रजहरूको लामो त्याग, तपस्या, मेहनत र योगदानबाट निर्माण भएको संस्था भएको उल्लेख गर्दै उनले विगतमा भएका कमजोरी, मनमुटाव र असमझदारीलाई पाठका रूपमा लिएर नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताए।
१२औँ महाधिवेशनपछि पनि कसैप्रति गुनासो, तिक्तता वा मनमुटाव बाँकी भए त्यसलाई विगतकै पानामा छोडेर नेपाली र नेपालको हितका लागि एकताबद्ध भएर अगाडि बढ्न उनले सबैमा अपिल गरे।
“एकताबद्ध, सुदृढ र सबैको साझा एनआरएनएका लागि सबै मिलेर अगाडि बढौँ,” शेरचनले आह्वान गरे।
डब्लिनमा आयोजित १७औँ एनआरएनए युरोपेली क्षेत्रीय बैठकमा अध्यक्ष रोबर्ट लिम्बु, प्रमुख अतिथि सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुली, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिङ्गा, लन्डनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडी, परराष्ट्र मन्त्रालयका उपसचिव तथा श्रम आप्रवासन तथा डायस्पोरा महाशाखा प्रमुख कृष्णकुमार सुबेदी, एनआरएनए आईसीसी अध्यक्ष डा. हेमराज शर्मा, आईसीसी पदाधिकारी, विभिन्न एनसीसीका अध्यक्ष तथा पदाधिकारी, संस्थापक अभियन्ता, समुदायका अग्रज, व्यवसायी, विज्ञ, युवा तथा महिला प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।