कैलाली–४ मा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) ले सार्वजनिक गरेको १० बुँदे प्रतिबद्धता पत्र यतिबेला चर्चामा आएको छ। कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, समावेशिता तथा युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्दै उनले क्षेत्रको समग्र विकासको खाका प्रस्तुत गरेका छन्।
कृषिमा संरचनागत सुधारको प्रतिबद्धता
बिष्टले कृषिमा मलखाद, उन्नत बीउ, सिँचाइ विस्तार, शीतभण्डार निर्माण, सहुलियत ऋण तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने वाचा गरेका छन्। साथै भूमिहीन र सुकुमवासीको व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रणसमेत आफ्नो एजेन्डामा समेटिएको उल्लेख गरेका छन्।
यद्यपि यी विषय संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय बिना सम्भव नहुने चुनौती रहे पनि उनले संसद्मा सशक्त आवाज उठाउने र आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा विस्तार
शिक्षातर्फ प्राविधिक शिक्षा विस्तार, क्याम्पस स्तरोन्नति र रोजगारमुखी पाठ्यक्रमलाई जोड दिइएको छ। स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा विस्तार, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सिकलसेल उपचारलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।
पूर्वाधार र औद्योगिक विकास
पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, तटबन्ध निर्माण, औद्योगिक क्षेत्र विस्तार, खेलमैदान निर्माण तथा धार्मिक–पर्यटकीय स्थलको विकासका योजना प्रतिबद्धता पत्रमा समेटिएका छन्।
युवालक्षित र समावेशी कार्यक्रम
युवाका लागि डिजिटल सीप विकास, सहुलियत कर्जा, स्वरोजगार प्रवर्द्धन तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ। समावेशितालाई संस्थागत गर्दै पछाडि परेका समुदायलाई अवसरमा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ।
कार्यान्वयनको चुनौती
कागजमा व्यापक देखिएको प्रतिबद्धता व्यवहारमा कति रूपान्तरण हुन्छ भन्ने विषय नै अबको मुख्य परीक्षा हुने देखिन्छ। चुनावी घोषणाभन्दा कार्यक्षमता र विश्वसनीयताले नै परिणाम निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ।
यद्यपि बिष्टले आफ्नो प्रतिबद्धता पत्र केवल चुनावी नारा नभई स्पष्ट कार्यान्वयन योजना र मागचित्रका आधारमा तयार गरिएको दाबी गरेका छन्।