कोरियन ब्यूटी कोर्टकी अध्यक्ष तथा युवा व्यवसायी सृजना एलिसाको पहल : विपद्मा नेपाल र नेपालीसँगै उभिने प्रतिबद्धता
काठमाडौं । नेपालमा पछिल्लो समय आएको विनाशकारी पहिरो तथा बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै कोरियन ब्यूटी कोर्टकी अध्यक्ष तथा युवा व्यवसायी सृजना एलिसाले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाएकी छन्।
एलिसाका कोरियन व्यवसायिक साझेदार Andy Lee (이상진) ले समेत नेपालमा भएको प्राकृतिक विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा बेपत्ता भएकाहरूको सकुशल खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
Andy Lee ले आफ्नो सन्देशमा विपत्तिका बेला हार मानेर वा रोएर मात्र बस्नुभन्दा आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, “यस्तो दुःख र विपत्ति जोसुकैको जीवनमा आउन सक्छ, त्यसैले पीडालाई आफ्नै पीडा सम्झेर सबै मिलेर सकेसम्म सहयोग गरौँ।”
उनले आफूले पनि आफ्नो तर्फबाट सक्दो सानो भए पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, कठिन परिस्थितिमा नेपालीहरू एकजुट भएर एकअर्काको दुःखमा साथ दिनुपर्नेमा जोड दिएका छन्।
“यस्तो दुःखद् परिस्थितिमा झन् सबै नेपालीहरू एकजुट भएर एकअर्काको दुःखमा साथ दिऔँ र यो पीडाबाट बाहिर निस्कन सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरौँ,” उनको सन्देशमा उल्लेख छ।
कोरियन ब्यूटी कोर्टकी अध्यक्ष तथा युवा व्यवसायी सृजना एलिसाले नेपाल–कोरिया सम्बन्ध, सौन्दर्य शिक्षा, सौन्दर्य उपचार तथा व्यवसायिक सहकार्यका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। उनका कोरियन साझेदार Andy Lee ले पनि एलिसासँग सहकार्य गर्दै सौन्दर्य शिक्षा, उपचार तथा वितरण व्यवसायमा काम गरिरहेको बताएका छन्।
नेपालमा विपद्को समयमा विदेशमा रहेका शुभेच्छुक तथा व्यवसायिक साझेदारहरूले समेत नेपाली नागरिकको दुःखमा साथ दिँदै सहयोग र ऐक्यबद्धता जनाउन थालेका छन्। एलिसा र उनका कोरियन साझेदारको सन्देशले पनि मानवीय संवेदना र अन्तर्राष्ट्रिय सद्भावको उदाहरण प्रस्तुत गरेको छ।
Andy Lee ले अन्त्यमा विपत्तिमा ज्यान गुमाउने सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माले शान्ति पाऊन् र उनीहरू दुःख–पीडारहित स्थानमा रहन सकून् भन्ने प्रार्थना गरेका छन्।