नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा आधिकारिक सभापति : विजय चौधरी

theoutsidenepal.com

काठमाडौं—नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विधानअनुसार गगन कुमार थापा पार्टी सभापतिमा सर्वसम्मत रूपमा नवनिर्वाचित भइसकेको विषयमा कुनै विवाद नरहेको कांग्रेसका बौद्धिक नेता विजय कुमार चौधरीले स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गगन थापाको नेतृत्व पूर्णतः आधिकारिक भएको बताएका छन्।


उनका अनुसार गणतान्त्रिक योद्धा गगन थापा विधानतः सभापतिमा चयन भइसकेका हुन्। महाधिवेशन प्रतिनिधिहरूको ६२.६८ प्रतिशत बहुमतले पार्टीलाई “शेरे तथा सातभाइ सकुनीको पञ्जाबाट कब्जामुक्त” गरेको घोषणा गरिसकेको र सो निर्णयको जानकारी समयमै निर्वाचन आयोगलाई पनि गराइसकिएको उनले उल्लेख गरेका छन्। पार्टी विधान नमान्नेहरूले उल्टै अरूलाई कारबाही गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ।


यसैबीच, नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर निर्वाचन आयोगमा पत्राचार भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार महाधिवेशन पक्षधरहरूले मंगलबार भृकुटीमण्डपमा विशेष महाधिवेशन सञ्चालन भइरहेको जानकारी आयोगलाई दिएका थिए र निर्णय भए अद्यावधिक विवरण पठाउने प्रतिबद्धता जनाएका थिए।


त्यसको भोलिपल्ट देउवा पक्षधरहरूले भने आफूहरूको तर्फबाट कुनै महाधिवेशन नभएको जानकारी आयोगमा पठाएका छन्। स्रोतका अनुसार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षधरलाई आधिकारिकता दिने सम्भावना उच्च रहेको बताइएको छ।


यस अवसरमा कांग्रेसका बौद्धिक नेता तथा Association of Nepali Taraiyan in America (ANTA) का प्रमुख सल्लाहकार विजय कुमार चौधरीले नवनिर्वाचित सभापति गगन कुमार थापा तथा सम्पूर्ण नेतृत्व टोलीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


उनले शुभकामना सन्देशमा भनेका छन्,

“नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा पार्टी सभापतिमा नवनिर्वाचित गगन कुमार थापा लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा उहाँहरूको कार्यकाल पूर्ण रूपमा सफल होस् भन्ने कामना गर्दछु।”


पार्टीभित्र जारी आधिकारिकता र नेतृत्वसम्बन्धी बहसका बीच आएको यो बधाई सन्देशले नयाँ नेतृत्वप्रति देश तथा प्रवास दुवैतर्फबाट समर्थन बढ्दै गएको संकेत गरेको छ।


प्रतिक्रिया