द टन न्युज ,काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई पार्टीको महामन्त्री पदमा मनोनयन गरेको छ। उक्त जिम्मेवारी प्राप्त गरेपछि शाहले यसलाई आफ्नो जीवनकै “गौरवपूर्ण र ऐतिहासिक दिन” भएको उल्लेख गर्दै पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।
शाहले पार्टीको केन्द्रीय समितिले आफूलाई दिएको विश्वास, माया र भरोसाले अझ जिम्मेवार र प्रतिबद्ध बनाएको बताएका छन्। उनले आदरणीय सभापति, वरिष्ठ नेता तथा सम्पूर्ण पार्टी पंक्तिप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा इमान्दारिता, निष्ठा र समर्पणका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले पार्टीको नीति, सिद्धान्त र उद्देश्यलाई आत्मसात गर्दै संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने दिशामा सक्रिय रहने उल्लेख गरेका छन्। साथै, गत संघीय निर्वाचनमा प्राप्त जनमतको सम्मान गर्दै जनताको विश्वास कायम राख्न र अझ सुदृढ बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन्।
शाहले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई व्यवहारमा उतार्दै जनताका अपेक्षा पूरा गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीभित्र सहकार्य, एकता र समन्वयलाई थप मजबुत बनाउँदै सबै तहका नेता तथा कार्यकर्तासँग मिलेर अघि बढ्ने उनले बताएका छन्।
उनले आगामी दिनहरूमा सबैको साथ, सुझाव र सहयोगको अपेक्षा गर्दै पुनः एकपटक विश्वास व्यक्त गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेका छन्।