पूर्व टेलिभिजन प्रस्तोताको दललाई जापानमा दुईतिहाइ बहुमत, ऐतिहासिक जिततर्फ अग्रसर

theoutsidenepal.com

टोकियो । जापानमा सम्पन्न मध्यावधि प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री सनाए तकाइचीको नेतृत्वमा रहेको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ऐतिहासिक जितको दिशामा अग्रसर भएको छ। प्रारम्भिक अनुमानअनुसार एलडीपीले ४६५ सदस्यीय प्रतिनिधिसभामध्ये ३२८ देखि ३५२ सिटसम्म जित्ने सम्भावना देखिएको विभिन्न अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन्, जसले दुईतिहाइ बहुमत सुनिश्चित हुने आँकलन गरिएको छ। 


निर्वाचनको औपचारिक नतिजा घोषणा हुन बाँकी रहे पनि प्रारम्भिक परिणामले एलडीपी एक्लैले बहुमत पार गर्ने र गठबन्धनसहित संसदमा शक्तिशाली स्थिति बनाउने देखिएको छ। दुईतिहाइ बहुमतले सरकारलाई कानुन निर्माण, आर्थिक सुधार तथा सुरक्षा नीतिमा ठूलो सहजता मिल्ने विश्लेषण गरिएको छ। 


प्रधानमन्त्री तकाइचीले चुनावपछि दिएको प्रारम्भिक प्रतिक्रियामा आर्थिक सुधार, कर नीति पुनरावलोकन तथा राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाउने योजना अघि सार्ने संकेत दिएकी छन्। उनले वित्तीय अनुशासन कायम राख्दै कर कटौतीका विषयमा तीव्र छलफल अघि बढाइने बताएकी छन्। 


विश्लेषकहरूका अनुसार यो जित जापानको युद्धपछिको संसदीय संरचना बनेयताकै सबैभन्दा फराकिलो जितमध्ये एक हुनसक्ने अनुमान गरिएको छ। यसले जापानको राजनीतिक भविष्य, आर्थिक नीति र क्षेत्रीय सुरक्षा रणनीतिमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। 


यसैबीच विपक्षी दलहरूले सत्तारूढ दलको अत्यधिक बहुमतले शक्ति सन्तुलनमा चुनौती सिर्जना गर्न सक्ने भन्दै सावधानी अपनाउनुपर्ने बताएका छन् भने सत्तारूढ दल समर्थकहरूले यसलाई स्थायित्व र द्रुत विकासको संकेतका रूपमा व्याख्या गरेका छन्।


प्रतिक्रिया