गोवाबाट बाढीपीडितका लागि १ लाख १ हजार १११ भारतीय रुपैयाँ सहयोग
समाजसेवी सुनिल रावतको नेतृत्वमा संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा
गोवा । नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट देश पीडित भइरहेका बेला भारतको गोवामा रहेका नेपालीहरूले मातृभूमिप्रतिको माया र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्दै बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।
गोवा राज्यमा विगत तीन दशकदेखि बस्दै आएका सक्रिय युवा समाजसेवी सुनिल रावतको मुख्य नेतृत्व तथा पहलमा बाढीपीडितका लागि १ लाख १ हजार १११ भारतीय रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको हो। उक्त रकम नेपाली रुपैयाँमा करिब १ लाख ६१ हजार ७०० बराबर रहेको जनाइएको छ।
संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ।
यो सहयोग समाजसेवी रावतको व्यक्तिगत पहल मात्र नभई उहाँको नेतृत्वलाई साथ, समर्थन र विश्वास गर्दै सहयोग गर्ने नेपाली तथा भारतीय शुभचिन्तकहरूको सामूहिक योगदान रहेको बताइएको छ।
सामाजिक कार्यमा लामो समयदेखि सक्रिय रावतले गोवामा रहेर नेपाली समुदायका सुख–दुःखमा निरन्तर साथ दिँदै आएका छन्। विपत्तिको समयमा मातृभूमिका नागरिक पीडामा परेको खबरले आफूहरूलाई भावुक बनाएको र परदेशमा रहेर पनि आफ्नो क्षमता अनुसार सहयोग गर्न पाउनु गर्वको विषय भएको उनले बताएका छन्।
“सहयोगको रकम ठूलो वा सानो हुन सक्छ, तर संकटको समयमा देखाइएको भावना र सहयोगी मन सबैभन्दा ठूलो कुरा हो,” रावतको भनाइ छ।
नेपालमा विपत्ति पर्दा हजारौँ किलोमिटर टाढा रहेर पनि गोवाबाट सहयोगको हात अघि बढाउनु प्रवासी नेपालीको मातृभूमिप्रतिको गहिरो सम्बन्ध, एकता र मानवीय संवेदनाको उदाहरण बनेको छ।
देश शोकमा रहेको समयमा गोवाबाट आएको यो सहयोगले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूलाई राहतसँगै आशा र हौसला प्रदान गर्ने विश्वास गरिएको छ।
सुनिल रावत र उहाँको टिमको यो पहलले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ—भौगोलिक दूरीले मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई टाढा बनाउन सक्दैन।
विपत्तिको यस घडीमा देशलाई राहतसँगै एकता, सद्भाव र मानवताको आवश्यकता रहेको भन्दै जहाँ रहे पनि आफ्नो क्षमता अनुसार पीडितका लागि सहयोग गर्न रावतको टिमले आग्रह गरेको छ।
“देश दुःखमा हुँदा परदेशमा बसेको नेपालीको मन पनि नेपालमै हुन्छ।”