कैलाली – प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर बिष्ट ‘आनन्द’ले कैलाली क्षेत्र नम्बर ४ मा चुनावी मैदानमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। बिष्टले आफ्नो अभियानको मुख्य लक्ष्य दीर्घकालीन विकास, समावेशी नीति र जनताको आवाज संसदसम्म पुर्याउने भएको बताएका छन्।
उहाँले स्पष्ट पार्दै भने, “म कुनै व्यक्ति वा समुदायमा मात्र सीमित नरहेर देशभित्र होस वा विदेशमा अप्ठ्यारो परिस्थितिमा परेका नेपालीको साथमा सधैं उभिने प्रयास गर्दै आएको छु।”
कोरोना महामारीका बेला एम्बुलेन्स वितरणदेखि विद्यालय सहयोगसम्म व्यक्तिगत पहल गर्दै आएको स्मरण गर्दै बिष्टले भने, “व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन। समाज परिवर्तनको यात्रालाई व्यवस्थित, दिगो र वैधानिक बनाउन नीतिगत तहमा काम गर्न आवश्यक छ। यही कारणले म चुनावी मैदानमा आएको हुँ।”
बिष्टले आफ्नो उम्मेदवारीको उद्देश्यको बारेमा थप बताए, “कैलाली–४ का जनताका दीर्घकालीन समस्या समाधान, दिगो र समावेशी विकास, र हरेक नागरिकको आवाज संसदसम्म पुर्याउन म प्रतिबद्ध छु। पार्टीले जनताको भरोसा र विश्वासको आधारमा मलाई उम्मेदवार बनाएको हो।”
उहाँले फागुन २१ गते हुने निर्वाचनमा जे परिणाम आए पनि जनताको दुःख–सुखमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।