काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रतिनिधिसभाको सभामुख चयनबारे आन्तरिक छलफल तीव्र बन्दै जाँदा यज्ञमणि न्यौपाने को नाम प्रमुख रूपमा अगाडि आएको छ। मोरङ्–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य न्यौपाने कानुनका जानकार तथा अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन्।
रास्वपाभित्र सभामुखका लागि योग्य पात्रको खोजी भइरहेका बेला न्यौपानेको संसदीय दक्षता, कानुनी ज्ञान र सन्तुलित व्यक्तित्वलाई उच्च रूपमा मूल्यांकन गरिएको छ। पार्टीभित्रका नेताहरूले उनी निष्पक्ष ढंगले संसद् सञ्चालन गर्न सक्ने क्षमतावान् उम्मेदवार भएको बताउँदै आएका छन्।
कानुन क्षेत्रमा लामो अनुभव संगालेका न्यौपानेले विभिन्न सार्वजनिक सरोकारका मुद्दामा स्पष्ट धारणा राख्दै आएका छन्। संसद्मा पनि उनले कानुनी तथा नीतिगत विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कारण उनको विश्वसनीयता अझ बढेको विश्लेषण गरिएको छ।
रास्वपाका नेताहरूका अनुसार, सभामुख पदका लागि आवश्यक पर्ने तटस्थता, संवैधानिक समझ र नेतृत्व क्षमता न्यौपानेमा रहेको ठहर गरिएको छ। यद्यपि, पार्टीले औपचारिक रूपमा सभामुखको उम्मेदवार घोषणा गरिसकेको छैन।
राजनीतिक वृत्तमा भने रास्वपाले सभामुखमा कसलाई अघि सार्छ भन्ने चासो बढ्दो छ। यस्तो अवस्थामा न्यौपानेको नाम चर्चामा आउनु पार्टीभित्रको शक्ति सन्तुलन र रणनीतिक निर्णयको संकेतका रूपमा हेरिएको छ।
सभामुख चयन प्रक्रियाले आगामी संसदीय गतिविधिमा समेत प्रभाव पार्ने भएकाले सबै दलहरूबीच सहमति र प्रतिस्पर्धा दुवै सम्भावना खुला रहेको देखिन्छI