एसईईमा जफत गरिएका १ करोड मूल्यका मोबाइल नष्ट, कानुनी र नैतिक बहस चर्कियो
जनकपुरधाम । मधेश प्रदेशमा एसईई र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका एक करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल फोन नष्ट गरिएको विषयले यतिबेला व्यापक चर्चा र विवाद सिर्जना गरेको छ।
सिरहाका विभिन्न परीक्षा केन्द्रबाट चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका ४९६ वटा एन्ड्रोइड मोबाइल, ७ वटा आइफोन र ५ वटा स्मार्टवाच जिल्ला प्रहरी कार्यालय सिरहाको परिसरमा नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि यो विषय थप चर्चामा आएको हो।
प्रहरी परिसरमा ती उपकरणहरूलाई २४ घण्टासम्म पानीमा डुबाएर पछि कुटपिट गरी नष्ट गरिएको देखिएको छ। सम्बन्धित निकायका अनुसार परीक्षा केन्द्रमा मोबाइल प्रयोग गरेर अनियमितता रोक्ने उद्देश्यले उक्त कदम चालिएको हो।
तत्कालीन मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी ले परीक्षा अघि नै परीक्षा हलभित्र मोबाइल भेटिए जफत गरी नष्ट गरिने चेतावनी दिएकी थिइन्। सोही निर्देशन तथा जिल्ला परीक्षा समन्वय समितिको निर्णयका आधारमा मोबाइल नष्ट गरिएको जनाइएको छ।
तर उक्त घटनापछि कानुनविद्, शिक्षाविद् तथा सर्वसाधारणले गम्भीर प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा परीक्षा हलमा मोबाइल लैजानु नियमविपरीत भए पनि ती उपकरण निजी सम्पत्ति भएकाले नष्ट गर्नु कानुनी रूपमा उचित थियो वा थिएन भन्ने विषयमा स्पष्टता आवश्यक छ।
कतिपयले परीक्षा प्रणालीमा अनुशासन कायम गर्न कडा कदम आवश्यक रहेको तर्क गरेका छन् भने अर्कोतर्फ निजी सम्पत्तिको संरक्षण सम्बन्धी संवैधानिक अधिकारको प्रश्न उठाइएको छ। सामाजिक सञ्जालमा समेत “मोबाइल अवैध थिए कि नष्ट गर्ने निर्णय अवैध थियो?” भन्ने बहस चर्किएको छ।
यस विषयमा सम्बन्धित निकायबाट विस्तृत कानुनी व्याख्या र औपचारिक धारणा आउन बाँकी रहेको छ। मोबाइल नष्ट गर्ने निर्णय कानुनी अधिकारभित्र थियो वा थिएन भन्ने विषयले आगामी दिनमा थप बहस र समीक्षा निम्त्याउने देखिएको छ।