१७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन रोजिना प्रधान राई र गणेश पराजुली डब्लिन प्रस्थान
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष, गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख तथा नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राई र १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलनका प्रमुख अतिथि, सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुली आयरल्याण्डको डब्लिनतर्फ प्रस्थान गरेका छन्।
आगामी १०–११ अगस्ट २०२६ मा आयरल्याण्डको डब्लिनस्थित Radisson Blu Royal Hotel मा आयोजना हुने १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनीहरू डब्लिन प्रस्थान गरेका हुन्।
‘संकल्प : नागरिकता • लगानी • समृद्धि’ भन्ने मूल भावनासहित आयोजना हुन लागेको सम्मेलनमा गैरआवासीय नेपालीका अधिकार, नागरिकताको निरन्तरता, नेपालमा लगानीको सम्भावना, आर्थिक विकास तथा विश्वभर छरिएर रहेका नेपालीबीच सहकार्य र एकतालगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सम्मेलनले नेपाली डायस्पोरालाई नेपालको विकास र समृद्धिसँग थप जोड्ने, लगानीका अवसर विस्तार गर्ने तथा गैरआवासीय नेपालीका अधिकार संरक्षणका विषयमा साझा धारणा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूले लिएका छन्।
युरोप क्षेत्रीय सम्मेलनमा विभिन्न मुलुकबाट सहभागी हुने गैरआवासीय नेपाली प्रतिनिधि तथा सरोकारवालाबीच अनुभव आदानप्रदान, सहकार्य र आगामी रणनीतिका विषयमा समेत छलफल हुने बताइएको छ।
रोजिना प्रधान राई तथा गणेश पराजुलीको डब्लिन यात्रा सफल, सुखद र उपलब्धिमूलक रहोस् भन्ने शुभकामनासहित १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलनको भव्य सफलताको कामना गरिएको छ।