अमेरिकाबाट वरिष्ठ समाजसेवी हेम थापा र माया थापाद्वारा बाढीपहिरो पीडितका लागि १ लाख सहयोग

theoutsidenepal.com

अमेरिकाबाट वरिष्ठ समाजसेवी हेम थापा र माया थापाद्वारा बाढीपहिरो पीडितका लागि १ लाख सहयोग

रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहत र उद्धारका लागि अमेरिकामा रहेका वरिष्ठ समाजसेवी हेम थापा र माया थापाले रु. १ लाख सहयोग गरेका छन्।

हेम–माया फाउन्डेसन तथा हेम थापा–माया थापाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,००,००० (एक लाख) सहयोग हस्तान्तरण गरिएको हो।

सहयोगसँगै हेम थापाले बाढीपहिरोमा ज्यान गुमाउने सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइते र बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आफ्नै परिवारले सन्तान गुमाउँदाको पीडा भोगिसकेका थापाले विपत्तिमा आफ्ना आमाबुबा, छोराछोरी तथा आफन्त गुमाएका परिवारको पीडा आफूले गहिरोसँग महसुस गरेको बताएका छन्। “पीडा पर्दा आफैंलाई मात्र परेको जस्तो लाग्दो रहेछ। अहिले सारा नेपाली पीडामा छन्, आमाको काख रित्तिएका छन्, परिवार उजाडिएका छन्,” उनले भावुक हुँदै भने।

आफ्नो परिवारसमेत दुःख र पीडामा रहेको अवस्थामा पनि विपत्तिमा परेका नेपालीको साथमा उभिनुपर्छ भन्ने मानवीय भावनाका साथ सहयोग गरिएको थापाको भनाइ छ।

उनले यो पीडादायी घडीमा सरकार, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली एकजुट भएर बाढीपहिरो प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न अपिल गरेका छन्।

“दुःखमा परेका नेपालीलाई साथ दिनु नै सच्चा मानवता हो। आफूले सकेको ठाउँबाट सक्दो सहयोग गरौँ,” थापाले आग्रह गरेका छन्।


प्रतिक्रिया