एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरद्वारा रवि लामिछानेसँग भेट, प्रवासी नेपाली मुद्दामा उठाए गम्भीर प्रस्ताव

theoutsidenepal.com

द टन न्युज, काठमाडौं | गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रेम गाहामगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरी विदेशमा रहेका नेपालीहरूको महत्वपूर्ण मुद्दाहरूमा छलफल गरेका छन्।


भेटका क्रममा अध्यक्ष गाहामगरले विशेषगरी गैरआवासीय नेपालीहरूको नागरिकता निरन्तरताको विषयलाई जोड दिएका थिए। उनले नागरिकता ऐन २०६३ को दफा १० संशोधन गरी “एक पटकको नेपाली, सधैंको नेपाली” सिद्धान्त लागू गर्न, वंशजहरूलाई पूर्ण अधिकारसहित नागरिकता दिन र विभेदकारी प्रावधानहरू तत्काल हटाउन माग गरेका छन्।


यसैगरी, गाहामगरले ब्रिटिश गोर्खा र उनका सन्ततिहरूको वंशज नागरिकता सुनिश्चित गर्दै सन् १९४७ को त्रिपक्षीय सन्धिको सम्मान गर्नु आवश्यक रहेको औंल्याएका छन्। विश्वभर रहेका नेपालीहरूको पहिचान, भावना र मातृभूमिसँगको सम्बन्ध कायम राख्न न्यायोचित र समावेशी कानुनी सुधार तुरुन्त लागू गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।


भेटमा प्रवासी नेपालीहरूको मताधिकार सुनिश्चितता, गोर्खा समस्याको समाधान र अन्य गैरआवासीय नेपाली सम्बन्धी विषयलाई संसदसम्म पुर्‍याउने विषयमा पनि गाहामगरले लामिछानेलाई आग्रह गरेका थिए।


गाहामगरले लामिछाने जस्ता युवा र भिजन भएका नेताबाट देशले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै राजनीतिक यात्रामा दृढतापूर्वक अघि बढ्न शुभकामना व्यक्त गरेका छन्। सभापति रवि लामिछानेले पनि विदेशमा बसेर फर्किएको अनुभवका आधारमा प्रवासी नेपालीहरूको मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले गोर्खा समुदायको मुद्दा नेपाल–बेलायत सम्बन्धका महत्वपूर्ण आधार भएको र यसलाई राष्ट्रिय सरोकारको विषयका रूपमा गम्भीरतापूर्वक सम्बोधन गर्ने बताएका छन्।


गाहामगरले २३ वर्षको नेतृत्व अवधिमा एनआरएनएले अपेक्षित प्रभावकारी काम गर्न नसक्दा हाल समस्या जटिल बन्दै गएको संकेतसमेत उल्लेख गरेका छन्।


सन्देश:

यस भेटले प्रवासी नेपाली र देशभित्रका नेताबीचको समन्वयलाई अझ बलियो बनाउँदै नागरिकता, वंशज अधिकार र गोर्खा समुदायको न्यायोचित संरक्षण जस्ता मुद्दामा सकारात्मक पहलको बाटो खोल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया