जापानमा भएको नेपाल फेस्टिभल कार्यक्रममा भएको अभद्र व्यवहारप्रति एनआरएनएको गम्भीर ध्यानाकर्षण
काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एसिया–प्रशान्त क्षेत्रीय महिला संयोजक संगीता अधिकारी सुवेदीमाथि जापानमा आयोजित नेपाल फेस्टिभल कार्यक्रममा सार्वजनिक स्थलमै भएको अभद्र व्यवहारप्रति गम्भीर दुःख व्यक्त गरेको छ।
एनआरएनएका आईसीसी का प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा महिला सम्मान, सुरक्षा र मर्यादा सभ्य समाजको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै कुनै पनि महिलामाथि हुने अभद्र व्यवहार, हिंसा, दुर्व्यवहार, अपमान वा अन्य कुनै पनि प्रकारका अमर्यादित गतिविधिप्रति संघको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ।
विज्ञप्तिमा उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा पीडितलाई न्याय सुनिश्चित गर्न निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ। साथै, दोषी प्रमाणित भए प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न पनि एनआरएनएले माग गरेको छ।
संघले विदेशमा नेपालीहरूले गर्ने व्यवहार, आचरण र अभिव्यक्तिले व्यक्तिगत पहिचान मात्र नभई नेपालको छवि, प्रतिष्ठा र समग्र नेपाली समुदायको सम्मान समेत प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ। त्यसैले सबै नेपालीलाई संयमित, जिम्मेवार र मर्यादित व्यवहार प्रदर्शन गर्दै आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरिएको छ।
प्रेस विज्ञप्तिमा सम्पूर्ण नेपाली समुदायलाई सम्मान, सुरक्षा र मर्यादाको संस्कृतिलाई आत्मसात् गर्दै जिम्मेवार अभिव्यक्ति र व्यवहार अपनाउन आह्वान गरिएको छ।
उक्त प्रेस विज्ञप्ति गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटाले जारी गरेका हुन्।