एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठ र क्यान अध्यक्षबीच नेपाली क्रिकेटको विकासबारे छलफल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का मध्यपूर्व संयोजक रमेश श्रेष्ठ र चतुरबहादुर चन्द बीच नेपाली क्रिकेटको विकास तथा विदेशमा रहेका नेपाली क्रिकेट खेलाडीहरूको हितका विषयमा सौहार्दपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ।
भेटका क्रममा नेपाली क्रिकेटको समग्र विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, उनीहरूको पेशागत तथा खेलकुद सम्बन्धी हित संरक्षण लगायतका विषयमा विस्तृत विचार-विमर्श भएको जनाइएको छ। विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली क्रिकेट खेलाडी तथा क्रिकेट क्लबहरूको प्रभावकारी व्यवस्थापन, खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उपाय तथा उनीहरूलाई थप अवसर र प्रोत्साहन प्रदान गर्ने विषयमा सकारात्मक छलफल भएको बताइएको छ।
त्यसैगरी, यूएईमा पहिलोपटक आयोजना हुन लागेको Nepalese Premier League of UAE सम्बन्धमा समेत रचनात्मक संवाद भएको थियो। छलफलमा उक्त प्रतियोगिताले यूएईस्थित नेपाली खेलाडीहरूको प्रतिभा उजागर गर्न, नयाँ खेलाडी उत्पादन गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
भेटघाटमा एनआरएनए आईसीसीका युवा उपाध्यक्ष भिमसेन थापा को समेत सहभागिता रहेको थियो। सहभागीहरूले वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका नेपाली खेलाडीहरूले भोगिरहेका चुनौती, उनीहरूको खेलकुदमा पहुँच तथा अवसर विस्तारका विषयमा समेत गम्भीर छलफल गरेका थिए।
छलफलपछि एनआरएनए आईसीसीका मध्यपूर्व संयोजक रमेश श्रेष्ठले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि देखाइएको सकारात्मक चासो तथा सहकार्यका लागि क्यान अध्यक्ष चतुरबहादुर चन्दप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्। उनले विदेशमा रहेका नेपाली खेलाडीहरूको क्षमता र योगदानलाई राष्ट्रिय क्रिकेटको विकाससँग जोड्न आवश्यक रहेकोमा जोड दिएका छन्।