काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशन नजिकिँदै गर्दा संघभित्र नेतृत्वका आकांक्षीहरूले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। यसै क्रममा वर्तमान महिला उपाध्यक्ष रोजिना प्रधान राई ले खुल्लातर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
सन् २००३ मा “नेपालका लागि नेपाली” भन्ने मूलमन्त्रसहित स्थापना भएको Non-Resident Nepali Association (NRNA) मा सन् २००७ देखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी राईले ११औँ महाधिवेशनबाट महिला उपाध्यक्षमा निर्वाचित हुनु व्यक्तिगत उपलब्धि मात्र नभई सदस्यहरूको विश्वासको प्रतिफल भएको उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा उनले संस्थाभित्र देखिएका चुनौतीलाई आत्मसात गर्दै बृहत् एकता, पारदर्शिता र संस्थागत सुदृढीकरणका पक्षमा निरन्तर उभिएको बताएकी छन्। महिला उपाध्यक्षका रूपमा कार्य गर्दा लिङ्ग र समुदायभन्दा माथि उठेर सम्पूर्ण गैरआवासीय नेपालीको हितमा काम गरेको दाबी पनि गरेकी छन्।
अब संघलाई अझ सशक्त, एकीकृत र उच्च स्तरमा पुर्याउने उद्देश्यसहित खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले स्पष्ट पारेकी छन्। “एक पटकको नेपाली सधैँको नेपाली” को अवधारणालाई अझ सशक्त बनाउँदै विश्वभर छरिएका नेपाली र तिनका सन्तानलाई सम्मानित पहिचान दिलाउने अभियानमा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।
राईले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा संस्थाको दीर्घकालीन हित र समृद्धिप्रतिको प्रतिबद्धताको प्रतीक भएको उल्लेख गर्दै सदस्यहरूबाट साथ, विश्वास र सहयोगको अपेक्षा गरेकी छन्।
एनआरएनएको १२औँ विश्व सम्मेलनले आगामी नेतृत्व चयनसँगै संस्थाको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ।