भोटेकोशी बाढीको प्रभाव रसुवादेखि चितवनसम्म पर्न सक्ने भन्दै एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचनको सतर्क रहन अपिल
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवादेखि चितवनसम्मको तल्लो तटीय क्षेत्रमा सम्भावित प्रभाव पर्न सक्ने भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
शेरचनले भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको जनाउँदै नदी आसपासका बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको बताएका छन्। क्षतिको थप विवरण संकलन भइरहेको उनले उल्लेख गरेका छन्।
बाढीले धेरै परिवारलाई पीडा, भय र अनिश्चितताको अवस्थामा पुर्याएको भन्दै शेरचनले प्रभावित परिवारप्रति गहिरो संवेदना व्यक्त गरेका छन्। उनले प्रभावितहरूको उद्धार, सुरक्षा र राहतका लागि सम्बन्धित सबै पक्ष तत्काल सक्रिय हुन अपिल गरेका छन्।
भोटेकोशीको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले नदी किनारमा बसोबास गर्ने नागरिकलाई जोखिमपूर्ण स्थानबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा जान उनले आग्रह गरेका छन्। मुग्लिनसम्मका तल्लो तटीय क्षेत्रमा समेत विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
शेरचनले स्थानीय तह, सुरक्षा निकाय, प्रशासन, सामाजिक संघसंस्था, युवा तथा स्वयंसेवकसहित सबैलाई आपसी समन्वय र सहकार्यमा उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन्।
‘अहिलेको समय आरोप–प्रत्यारोपको होइन, मानवीय संवेदना, सहयोग र एकताको हो,’ उनले भनेका छन्।
नदीको बहाव हेर्न, भिडियो बनाउन वा जोखिमपूर्ण स्थानमा पुगेर आफ्नो ज्यान जोखिममा नपार्न पनि उनले नागरिकलाई सचेत गराएका छन्। प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्दै आफू सुरक्षित रहन र अरूलाई पनि सुरक्षित राख्न सहयोग गर्न उनले अपिल गरेका छन्।
संकटको यस घडीमा सबै एकजुट भएर पीडितको उद्धार तथा राहतमा सहयोग गर्न आग्रह गर्दै शेरचनले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
द टन न्युज | भोटेकोशी बाढी | विपद् सतर्कता