रामेछाप — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा चुनावी सरगर्मी बढेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका वीरेन्द्र श्रेष्ठ अहिले गाउँ–गाउँमा घरदैलो अभियानमा सक्रिय छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले रामेछापवासी बुवा–आमा, दिदीबहिनी, दाजुभाइ तथा युवासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको आशा, अपेक्षा र सुझाव सुन्न आफू माटोमै आएको बताएका छन्। “रामेछापको भविष्य किताबमा होइन, हामीबीचको विश्वासमा लेखिन्छ,” उनले उल्लेख गरेका छन्।
श्रेष्ठले अब मतदानका लागि १७ दिन मात्रै बाँकी रहेको स्मरण गराउँदै ‘आँखा’ चिन्हमा मत दिन अपिल गरेका छन्। उनले भनेका छन्, “हामी सँगै हिँड्यौं भने परिवर्तन सम्भव छ। तपाईंहरूको साथ, सुझाव र मार्गदर्शन नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”
भीजनरी नेतृत्वको दाबी
व्यवसाय क्षेत्रमा सफल पहिचान बनाएका श्रेष्ठले अब राजनीतिक माध्यमबाटै रामेछापको मुहार फेर्ने लक्ष्य राखेको बताएका छन्। स्थानीय स्तरमा रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि आधुनिकीकरण र सुशासनलाई आफ्नो प्राथमिकतामा राख्दै उनले आफूलाई “भीजनरी नेतृत्व” का रूपमा प्रस्तुत गरेका छन्।
उनका समर्थकहरूले श्रेष्ठलाई विकासप्रेमी, स्पष्ट दृष्टिकोण भएका र कार्यान्वयन क्षमतायुक्त उम्मेदवारका रूपमा चित्रण गर्दै जित सुनिश्चित गर्न अपिल गरिरहेका छन्।
रामेछापमा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ। यद्यपि, श्रेष्ठले जनताको विश्वास र साथ पाए रामेछापलाई समृद्ध र अवसरयुक्त जिल्ला बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।
“आँखामा भोट, रामेछापको उज्यालो भविष्यको नोट” भन्ने नारासहित उनको अभियान तीव्र रूपमा अघि बढिरहेको छ।