द टन न्युज ॥ विशेष रिपोर्ट
यूएईमा जीसीडी नेपाली प्रिमियर लिगको पहिलो संस्करण सम्पन्न, गोर्खाली राइनोज च्याम्पियन
यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गरिएको जीसीडी नेपाली प्रिमियर लिग यूएईको पहिलो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। सेप्टेम्बर ३ देखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण समारोहसँगै पहिलो संस्करणको औपचारिक समापन गरिएको हो।
रोमाञ्चक फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै जीसीडी गोर्खाली राइनोजले उपाधि जित्दै पहिलो संस्करणको च्याम्पियन बनेको छ। एनसीसी हार्डहिटर्स उपविजेतामा सीमित भयो।
आयोजकले विजेता गोर्खाली राइनोज, उपविजेता हार्डहिटर्ससहित प्रतियोगितामा सहभागी सबै टोली, कप्तान, खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन पक्षलाई बधाई तथा धन्यवाद व्यक्त गरेको छ।
नेपाली क्रिकेटलाई यूएईमा नयाँ मञ्च
जीसीडी नेपाली प्रिमियर लिगको मुख्य उद्देश्य यूएईमा रहेका प्रतिभावान नेपाली क्रिकेट खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्नु तथा खेलकुदका माध्यमबाट नेपाली समुदायलाई एकताबद्ध गर्नु रहेको आयोजकले जनाएको छ।
पहिलो संस्करणले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै यूएईमा रहेका नेपाली समुदायबीच सहभागिता, सहकार्य र आपसी सम्बन्धलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
फाइनल तथा पुरस्कार वितरण समारोहमा नेपाली महावाणिज्य दूतावास, दुबईका उप-महावाणिज्यदूत कृष्ण प्रसाद चापागाईँ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा एनआरएनए आईसीसी मध्यपूर्व उप-संयोजक दीपक खड्का, एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल, पूर्व अध्यक्ष सुदिप कार्की, नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान, नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटा, एनआरएनए आईसीसी सदस्य गोपी चन्द्र भुसाल तथा कुमार लम्साललगायत विभिन्न सामाजिक, वैचारिक तथा सामुदायिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
त्यस्तै प्रवास नेपाली सम्पर्क समाज यूएईका प्रमुख सुजन थापा, जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, प्रवासी नेपाली एकता समाज यूएईका अध्यक्ष नारायण प्रसाद आचार्य, तनहुँ सेवा समाज यूएईका प्रमुख सल्लाहकार सुदिप कार्की, स्याङ्जा सहयोग समाज यूएईका अध्यक्ष रेशम खनाल, गुल्मी सेवा समाजका अध्यक्ष जीवन सिंह ठकुरी, संरक्षक कृष्ण गौतम, समाजसेवी बाबुराम विश्वकर्मा, व्यवसायी विष्णु अधिकारी र मनोज मरठ्ठालगायतको सहभागिता थियो।
कार्यक्रममा सांस्कृतिक समूह संयोजक कमल जङ्ग कार्की, लाङ्घाली संगीत संसार, भजन समूह, विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र क्रिकेटप्रेमी दर्शकको समेत उल्लेख्य सहभागिता रहेको थियो।
विभिन्न संस्था तथा व्यवसायीको साथ
प्रतियोगिता सफल बनाउन विभिन्न संस्था तथा व्यवसायीले प्रायोजन तथा साझेदारी गरेका थिए।
प्लाटिनम स्पोन्सर अल फरदान एक्सचेन्ज, गोल्डेन स्पोन्सर काटुस प्रोपर्टी, प्रायोजक जक ओरेन्ज तथा भण्डारी ब्रदर्स एन्ड ग्रुप रहेका थिए।
त्यस्तै सह-प्रायोजकमा हिमालयन ग्लोबल ज्वेलर्स, निको पोलिक्लीनिक तथा नेप्लिज सेवा रहेका थिए।
रेष्टुरेन्ट पार्टनरमा भेराइटी मःम, ट्राभल्स पार्टनरमा नमस्ते ट्राभल्स, सयपत्री ट्राभल्स, फिस्टेल ट्राभल्स र सपना ट्राभल्स तथा मिडिया पार्टनरमा फरकधार र वियोन्ड नेपाल रहेका थिए।
प्रतियोगिताको ब्रान्ड एम्बेस्डर नवराज पाण्डे ‘फुलेको बुढा’ रहेका थिए।
‘पहिलो संस्करण ऐतिहासिक सुरुवात’
आयोजक कमिटीका अध्यक्ष तथा जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था, प्रायोजक, खेलाडी, प्राविधिक तथा दर्शकप्रति आभार व्यक्त गरे।
उनले पहिलोपटक यति ठूलो स्तरमा आयोजना गरिएको जीसीडी नेपाली प्रिमियर लिग यूएई नेपाली क्रिकेटका लागि महत्वपूर्ण सुरुवात भएको बताउँदै यात्रा पहिलो संस्करणमै नरोकिने स्पष्ट पारे।
श्रेष्ठले आगामी दिनमा सिजन–२, सिजन–३ हुँदै प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै पहिलो संस्करणका अनुभव, सुझाव तथा सम्भावित कमी–कमजोरीलाई सुधार गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित, परिस्कृत र भव्य बनाउने बताए।
एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरीले पनि यूएईमा नेपाली क्रिकेटका लागि प्रतियोगिता महत्वपूर्ण पहल भएको बताए। नेपाली समुदायलाई क्रिकेटका माध्यमबाट जोड्दै खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।
पर्दापछिका सहयोगीप्रति सम्मान
प्रतियोगिताको अवधारणा, प्रस्ताव तथा प्रपोजल तयार गरी प्रतियोगितालाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रतियोगिता हेड दिपाङ्कर डङ्गोल, खेलाडीलाई मार्गदर्शन गर्दै प्राविधिक पक्ष सम्हालेका प्रशिक्षक ड्यान परियार, आयोजक टोलीका योगी विश्वकर्मा, सुमन उदयलगायतप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ।
प्रतियोगिता निष्पक्ष, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गराउन खटिएका अम्पायर, म्याच अफिसियल, स्वयंसेवक, प्राविधिक टोली तथा अन्य सहयोगीहरूको योगदानप्रति पनि आयोजकले धन्यवाद व्यक्त गरेको छ।
जीसीडी नेपाली प्रिमियर लिगको पहिलो संस्करणले यूएईमा नेपाली क्रिकेटका लागि एउटा नयाँ प्रतिस्पर्धात्मक मञ्च निर्माण गर्दै खेल, समुदाय र सहकार्यलाई एउटै मैदानमा जोडेको आयोजकको दाबी छ। गोर्खाली राइनोजको पहिलो उपाधिसँगै सुरु भएको यो यात्रा आगामी संस्करणमा अझ व्यापक बनाउने आयोजकको घोषणा छ।
द टन न्युज ॥ विशेष रिपोर्ट