कैलाली। Godawari Municipality अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरूले विविध कार्यक्रम आयोजना गर्दै ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ भव्य रूपमा मनाएका छन्।
गोदावरी नगरपालिका वडा नं. १० का चार वटा सामुदायिक विद्यालयले संयुक्त रूपमा हाजिरी जवाफ प्रतियोगिता तथा खमौरा स्वास्थ्य क्लिनिक परिसर सरसफाइ कार्यक्रम सञ्चालन गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय विद्यालयलाई नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) सहभागी हुनुहुन्थ्यो। आफ्नो मन्तव्य व्यक्त गर्दै उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफ्नो तर्फबाट भरपुर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
वडा अध्यक्ष शाहीले विद्यालय विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने, विद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने तथा शिक्षकहरूले आफ्नो पेशाप्रति पूर्ण रूपमा जवाफदेही भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी सम्पूर्ण सहयोगी तथा अतिथिहरूलाई विद्यालयकी प्रधानाध्यापक अमृता मल्लले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
यसै अवसरमा श्री जानकी विद्यालयले पनि कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच व्यक्तित्व कला प्रतियोगिता आयोजना गर्नुका साथै सार्वजनिक चोक सरसफाइ कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएका यस्ता शैक्षिक तथा सामाजिक गतिविधिले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।