अमेरिकामा बसोबास गर्दै आउनुभएका वरिष्ठ समाजसेवी हेम थापाले स्वर्गीय गणेश नेपालीको परिवारलाई रु. ५० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ। उक्त रकम समाजसेवी झकीन्द्र खतिवडामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
समाजसेवी खतिवडाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार, आफ्ना कान्छा छोरा सुनिल थापाको असामयिक निधनको गहिरो शोकमा रहनुभएका हेम थापाले गणेश नेपालीको निधनले आफू अत्यन्तै मर्माहत र स्तब्ध भएको बताउनुभएको छ। प्रियजन गुमाउनुको पीडा शब्दले व्यक्त गर्न नसकिने भएकाले पीडित परिवारको दुःखमा सानो भए पनि साथ दिने उद्देश्यले आर्थिक सहयोग पठाएको उहाँले उल्लेख गर्नुभएको छ।
यसैबीच, इजरायलमा रहनुभएकी समाजसेवी पवित्रा गौतमले पनि स्वर्गीय गणेश नेपालीको परिवारका लागि रु. १०,००५ (दश हजार पाँच रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ। उक्त रकम पनि समाजसेवी झकीन्द्र खतिवडामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
समाजसेवी खतिवडाले हालसम्म प्राप्त सहयोग रकम सम्बन्धित परिवारलाई पारदर्शी रूपमा हस्तान्तरण गरिरहेको जानकारी दिनुभएको छ।
उहाँले गणेश नेपालीको मृत्युबारे नेपाल सरकारले निष्पक्ष, पारदर्शी र सत्यतथ्य छानबिन गर्न आग्रह गर्दै, यदि कसैको लापरवाही वा कमजोरीका कारण घटना भएको पुष्टि भए दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई आवश्यक राहत, सहयोग र न्याय सुनिश्चित गर्न तथा भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभएको छ।
समाजसेवी खतिवडाले स्वर्गीय गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।