तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको करिब २ अर्ब अनुदान
काठमाडौँ । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
यसका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) र नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयबीच ‘नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि’ परियोजना कार्यान्वयन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहेअन कोङ र मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दक्षिण कोरिया सरकारले कोइकामार्फत सन् २०२६ देखि २०३१ सम्म सञ्चालन हुने ६ वर्षे परियोजनाका लागि १ अर्ब ८१ करोड रुपैयाँ (१ करोड २० लाख अमेरिकी डलर) अनुदान उपलब्ध गराउनेछ। यो परियोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगअन्तर्गतको सबैभन्दा ठूलो परियोजना तथा नेपालमा कोइकाको हालसम्मकै सबैभन्दा ठूलो द्विपक्षीय परियोजना मानिएको छ।
परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। आयोजनाले जलवायुमैत्री कृषि प्रविधिको विस्तार, सुदृढ धान बिउ प्रणाली, बाली कटानीपछिको व्यवस्थापन सुधार तथा कृषक र उद्यमीको बजार पहुँच विस्तारमार्फत धान उत्पादन वृद्धि गरी खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्य राखेको छ।
परियोजना कार्यान्वयनमा कृषि मन्त्रालय, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालयहरूसँगै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान (इरी) को प्राविधिक सहयोग रहने जनाइएको छ। साथै, जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने सुधारिएका धानका जातको विकास र विस्तारमा विशेष जोड दिइने बताइएको छ।