काठमाडौं । गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association – NRNA) को १२औँ विश्व सम्मेलन नजिकिँदै गर्दा जापानबाट डेलिगेट छनोटको विषयमा हेरफेर र मनोमानी भएको छ। सम्मेलनका लागि जापानबाट कार्यसमितिले निर्णय गरेर पठाइएको डेलिगेट सूचीमा मनोमानी ढंगले हेरफेर गरेको हो।
जानकारीअनुसार जापान कार्य समितिले तयार पारेर सिफारिस गरेको डेलिगेट सूची पछि प्रत्यक्ष रूपमा परिवर्तन गरिएको बताइएको छ। कार्य समितिबाट पठाइएको नामावलीलाई बेवास्ता गर्दै केही व्यक्तिलाई थप्ने र केहीलाई हटाउने गरी कार्यसमितिबाट हस्तक्षेप भएको आरोप लागेपछि जापानस्थित नेपाली समुदायमा असन्तुष्टि बढेको छ।
स्रोतका अनुसार यसअघि डेलिगेटको सूची सार्वजनिक गरिने परम्परा भए पनि यस पटक भने सूची सार्वजनिक नगरिएको भन्दै थप शंका उत्पन्न भएको बताइन्छ। डेलिगेट छनोट प्रक्रिया पारदर्शी नभएको र सीमित समूहको स्वार्थअनुसार सूची परिवर्तन गरिएको भन्दै यसलाई ठूलो घोटालाका रूपमा चर्चा हुन थालेको छ।
यद्यपि, यस विषयमा सम्बन्धित पक्षहरूले भने औपचारिक प्रतिक्रिया दिएका छैनन्।गैरआवासीय नेपाली संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन काठमाडौंस्थित Soaltee Hotel Kathmandu मा आयोजना हुँदैछ। सम्मेलनमा विश्वभर रहेका गैरआवासीय नेपाली प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
तर सम्मेलनअघि नै जापानबाट डेलिगेट छनोटसम्बन्धी विवाद बाहिरिएपछि संगठनभित्र थप बहस र चासो बढेको देखिएको छ।