डायस्पोराको सहयोग सार्वजनिक नगरेको भन्दै सरकारप्रति एनआरएनए सचिव खत्रीको प्रश्न
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका सचिव दीपेश खत्रीले बाढीपहिरो प्रभावितका लागि विदेशमा रहेका नेपाली तथा एनआरएनएबाट भएको सहयोगलाई सरकारले संसदमा सार्वजनिक नगरेको भन्दै प्रश्न उठाएका छन्।
खत्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीप्रति सम्बोधन गर्दै विपद्का बेला मित्रराष्ट्रहरूले गरेको सहयोगको विवरण संसदमा प्रस्तुत गरेकोमा धन्यवाद दिँदै डायस्पोराबाट प्राप्त सहयोगलाई पनि छुट्टै शीर्षकमा पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
उनले सरकारकै आह्वानपछि विदेशमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनी तथा एनआरएनएबाट नेपाल सरकारलाई वास्तविक आर्थिक सहयोग हस्तान्तरण भइसकेको उल्लेख गरेका छन्। तर, अन्तर्राष्ट्रिय सहयोगको विवरण प्रस्तुत गर्दा डायस्पोराबाट आएको सहयोगलाई आधिकारिक अभिलेख र सार्वजनिक सम्बोधनमा नसमेटिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
खत्रीले करिब ५० लाखभन्दा बढी नेपाली डायस्पोरालाई राज्यले कसरी हेरेको छ भन्ने प्रश्नसमेत उठाएका छन्। उनका अनुसार एनआरएनए केवल आर्थिक सहयोग गर्ने संस्था नभई नेपालको मानव पूँजी, ज्ञान, सीप, लगानी, प्रविधि र अन्तर्राष्ट्रिय नेटवर्क बोकेको नेपाली शक्ति हो।
उनले विपद् व्यवस्थापनदेखि नेपालको आर्थिक पुनर्निर्माणसम्म एनआरएनए तथा नेपाली डायस्पोरालाई औपचारिक साझेदारका रूपमा मान्यता दिन सरकारसँग माग गरेका छन्।
खत्रीको भनाइमा, डायस्पोराबाट आएको सहयोगको छुट्टै र पारदर्शी विवरण सार्वजनिक गर्नु राज्यको जिम्मेवारी हो।