एनआरएनएको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन डिसेम्बर ११ र १२ मा कतारमा हुने
‘सहयात्रा–Journey Together’ मूल नारासहित सुरक्षित श्रम आप्रवासन र श्रमिकको हकहित संरक्षणमा जोड
द टन न्युज । काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। सम्मेलनको तयारी अघि बढाइएको जानकारी दिँदै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले विश्वभर छरिएर रहेका नेपाली समुदायका अभियन्ता, पदाधिकारी, प्रतिनिधि तथा शुभचिन्तकहरूलाई सम्मेलनमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।
‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनको मुख्य विषयवस्तु ‘सहयात्रा–Journey Together’ रहेको छ। मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या र चुनौतीलाई सम्बोधन गर्ने, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्ने र श्रमिकको अधिकार तथा हित संरक्षण गर्ने उद्देश्य सम्मेलनले लिएको छ।
सम्मेलनमा मध्यपूर्वमा रहेका नेपाली श्रमिकका समस्या, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय, श्रमिकको सामाजिक सुरक्षा, सामूहिक लगानी तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीहरूको योगदान अभिवृद्धिलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
अध्यक्ष पन्थीका अनुसार सम्मेलनले प्रवासी नेपालीहरूको हकहित संरक्षणका लागि साझा दृष्टिकोण निर्माण गर्नुका साथै ठोस कार्ययोजना र दीर्घकालीन प्रतिबद्धता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। सामूहिक प्रयास, सहकार्य र एकतामार्फत सुरक्षित श्रम आप्रवासन सुनिश्चित गर्दै श्रमिकको सम्मान र समृद्ध नेपालको आधार बलियो बनाउने सम्मेलनको लक्ष्य रहेको छ।
यस महत्त्वपूर्ण सम्मेलनलाई सफल, उपलब्धिमूलक र ऐतिहासिक बनाउन एनआरएनएका अग्रज, अभियन्ता, पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि तथा विश्वभर रहेका नेपाली समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता आवश्यक रहेको अध्यक्ष पन्थीले बताएका छन्।
सहभागिताका लागि अनलाइन फाराम
सम्मेलनमा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई आयोजकले उपलब्ध गराएको Google Form मार्फत आफ्नो विवरण भर्न अनुरोध गरिएको छ।
सहभागिता दर्ता फाराम:
https://docs.google.com/forms/d/e/1FAIpQLSf8TX69FG9gL_iRrbhBo46igwwiUWGPO4_iVdkkS2vUIjzCvg/viewform?usp=dialog
अध्यक्ष पन्थीले ‘सहयात्रा’को भावनालाई आत्मसात् गर्दै एकता, सहकार्य र साझा प्रतिबद्धताका साथ सुरक्षित श्रम आप्रवासन, श्रमिकको हकहित संरक्षण तथा समृद्ध नेपालको निर्माण अभियानमा हातेमालो गर्न सबैलाई आह्वान गरेका छन्।
‘सहयात्रा हाम्रो प्रतिबद्धता, सुरक्षित आप्रवासन हाम्रो अभियान र समृद्ध भविष्य हाम्रो साझा लक्ष्य’ भन्ने सन्देशसहित एनआरएनएले सम्मेलनलाई प्रवासी नेपालीका साझा सरोकार सम्बोधन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा अघि बढाउन खोजेको छ।
— कृष्ण पन्थी
अध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार