रास्वपामा नयाँ इतिहास : केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित

theoutsidenepal.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा ५१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको छ। चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमा ५० जना महिला निर्वाचित भएका हुन्।

राजनीतिक विश्लेषकहरूका अनुसार नेपालको लोकतान्त्रिक इतिहासमा कुनै पनि राजनीतिक दलको केन्द्रीय समितिमा खुला निर्वाचनमार्फत आधाभन्दा बढी महिला निर्वाचित भएको यो सम्भवतः पहिलो घटना हो। नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरे पनि रास्वपाले प्रतिस्पर्धात्मक निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी महिला निर्वाचित गराएर नयाँ उदाहरण प्रस्तुत गरेको छ।

त्रिभुवन विश्वविद्यालय का उपप्राध्यापक दिपेश घिमिरे ले यसलाई नेपाली राजनीतिमा महिला र विशेषगरी युवा महिलाको बलियो हस्तक्षेपको संकेतका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार महिलाहरू निर्वाचित भएर नेतृत्व तहमा पुग्नुले अन्य राजनीतिक दललाई पनि महिलामैत्री नीति र नेतृत्व विकासमा ध्यान दिन प्रेरित गर्नेछ।

घिमिरेले शिक्षा, सामाजिक र आर्थिक क्षेत्रमा महिलाको बढ्दो सहभागिताले अब राजनीतिमा पनि समान रूपमा नेतृत्व लिन सक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै रास्वपाको यो उपलब्धिले समग्र समाजमा सकारात्मक सन्देश दिएको बताए।

रास्वपाको कुल १५८ सदस्यीय केन्द्रीय समितिमा कम्तीमा ५३ जना महिला हुनुपर्ने विधानको व्यवस्था रहेको छ। तर निर्वाचनबाटै ९९ सदस्यमध्ये ५० जना महिला निर्वाचित भइसकेका छन्। सभापतिले मनोनीत गर्ने बाँकी ५१ सदस्यमध्ये पनि उल्लेख्य संख्यामा महिला समेटिने पार्टीले जनाएको छ।

यस्तै, १९ सदस्यीय पदाधिकारीमध्ये निर्वाचन भएका ६ पदमध्ये दुई पदमा महिला निर्वाचित भएका छन् भने मनोनयनमार्फत थप कम्तीमा चार जना महिलालाई पदाधिकारीमा समावेश गरिने जानकारी महामन्त्री विपीन आचार्य ले दिएका छन्।


प्रतिक्रिया