एनआरएनए सचिव पदमा जापानबाट शिवप्रसाद पौडेलको उम्मेदवारी घोषणा

theoutsidenepal.com

जापान । गैरआवासीय नेपाली संघ Non-Resident Nepali Association (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत आगामी कार्यकाल २०२६–२०२८ का लागि सचिव पदमा जापानबाट Shiv Prasad Paudel ले उम्मेदवारी दिने घोषणा गरेका छन्।


हाल Tokyo मा व्यवसाय गर्दै आएका पौडेल NRNA Japan का पूर्व सफल अध्यक्ष हुन्। उनले जापानको राजधानी टोक्योस्थित नेपाली समुदायको केन्द्रका रूपमा परिचित Shin-Okubo क्षेत्रमा “ग्लोबल होमनेट वर्क” नामक रियल स्टेट कम्पनी सञ्चालन गर्दै आएका छन्।


एनआरएनए जापानभित्र संस्थागत विवाद र आन्तरिक चुनौतिका बीच नेतृत्व सम्हालेका पौडेलले आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए। विशेषगरी COVID-19 Pandemic जस्तो जटिल परिस्थितिमा समेत संगठनलाई सम्हाल्दै संस्थालाई स्थिर बनाउने भूमिका खेलेको भन्दै उनको नेतृत्वको व्यापक प्रशंसा भएको थियो।


आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्दै पौडेलले विगतमा जस्तै अब अन्तर्राष्ट्रिय स्तरमा संगठनलाई अझ सशक्त बनाउने लक्ष्यसहित आफू मैदानमा उत्रिएको बताए। “कोभिड महामारी, संस्थागत विवादलगायत चुनौतीपूर्ण परिस्थितिमा पनि एनआरएनए जापानलाई सफल रूपमा अवतरण गराउँदै नेतृत्व हस्तान्तरण गर्न पाएकोमा खुशी छु। अब फरक भूमिकाबाट संगठनलाई योगदान दिने उद्देश्यले सचिव पदमा उम्मेदवारी दिएको हुँ,” उनले बताए।


पूर्व अध्यक्ष पौडेलले जापानसहित विश्वभर रहेका नेपाली समुदायबाट आफूलाई सहयोग र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। उनले एनआरएनएलाई अझ प्रभावकारी, पारदर्शी र सबै नेपालीलाई जोड्ने साझा प्लेटफर्मका रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।


प्रतिक्रिया