मिटर र ट्रान्सफर्मरको मौज्दातबारे मन्त्री श्रेष्ठको चासो, प्राधिकरणलाई पारदर्शिता बढाउन निर्देशन

theoutsidenepal.com

मिटर र ट्रान्सफर्मरको मौज्दातबारे मन्त्री श्रेष्ठको चासो, प्राधिकरणलाई पारदर्शिता बढाउन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणसँग उपभोक्तासँग प्रत्यक्ष जोडिएका मिटर र ट्रान्सफर्मर लगायतका उपकरणहरूको मौज्दात तथा आपूर्ति व्यवस्थापनबारे जानकारी लिनुभएको छ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकका क्रममा मन्त्री श्रेष्ठले प्राधिकरण व्यवस्थापनसँग उक्त विषयमा विस्तृत छलफल गर्नुभएको हो। उपभोक्ताबाट मिटर र ट्रान्सफर्मर जस्ता अत्यावश्यक उपकरण सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि मन्त्री श्रेष्ठले चासो व्यक्त गर्नुभएको बताइएको छ।

बैठकमा प्राधिकरण व्यवस्थापनले खरिद प्रक्रिया केही जटिल भए पनि हाल पर्याप्त मौज्दात रहेको र थप आपूर्ति प्रक्रिया अघि बढिरहेको जानकारी गराएको छ। व्यवस्थापनले अब उपभोक्तालाई यस्ता उपकरणको अभाव नहुने स्पष्ट पारेको छ।

त्यसैगरी मन्त्री श्रेष्ठले देशभर सञ्चालनमा रहेका विद्युत प्राधिकरणका विभिन्न परियोजनाहरूको विवरण सार्वजनिक गर्न सूचनापाटी राख्न सुझाव दिनुभएको छ। सूचनापाटीमा परियोजनाको कुल लागत, निर्माण अवधि, ठेकेदार कम्पनी, परियोजना प्रमुख तथा सूचना अधिकारीको नाम र सम्पर्क नम्बर समावेश गर्नुपर्ने उहाँको सुझाव छ।

मन्त्री श्रेष्ठले यस्तो व्यवस्था लागू भए परियोजनामा पारदर्शिता बढ्ने र नागरिकले सहज रूपमा जानकारी पाउने विश्वास व्यक्त गर्नुभएको छ। बैठकमा ऊर्जा क्षेत्रका अन्य चालु परियोजनाहरूको प्रगति र चुनौतीबारे पनि छलफल भएको थियो।


प्रतिक्रिया