६० लाखको दैनिक बिक्री आम्दानी ९० लाख पुग्यो, थप आम्दानी कृषक भुक्तानीमै : दुग्ध विकास संस्थानको नयाँ रणनीति प्रभावकारी बन्दै

theoutsidenepal.com

६० लाखको दैनिक बिक्री आम्दानी ९० लाख पुग्यो, थप आम्दानी कृषक भुक्तानीमै : दुग्ध विकास संस्थानको नयाँ रणनीति प्रभावकारी बन्दै 

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको नेतृत्वमा रहेको दुग्ध विकास संस्थानले आन्तरिक सुधार, आक्रामक बजारीकरण तथा मौज्दातमा रहेका दुग्धजन्य पदार्थको खपत बढाएर कृषकको बक्यौता भुक्तानीमा उल्लेख्य सुधार गरेको छ। संस्थानका अनुसार पछिल्लो तीन महिनामा कृषकलाई भुक्तानी गर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटाएर करिब ३५ करोड रुपैयाँमा सीमित गर्न सफल भएको छ। यसअघि करिब सात महिनासम्म पुगेको कृषक भुक्तानीको दूरीलाई हाल दुईदेखि तीन महिनामा झारिएको र अब त्यसलाई एक महिनामा सीमित गर्ने लक्ष्यसहित काम भइरहेको  छ।

संस्थानमा लामो समयदेखि मौज्दात रहेको करिब ६०० मेट्रिक टन धुलो दूध र ४५० मेट्रिक टन मखनलाई प्रभावकारी रूपमा बिक्री तथा खपत गराई त्यसबाट प्राप्त आम्दानी कृषक भुक्तानीमा परिचालन गरिएको  छ। त्यस्तै, दैनिक बिक्री आम्दानीसमेत ६० लाख रुपैयाँबाट बढाएर करिब ९० लाख रुपैयाँ पुर्‍याउन सफल भएको संस्थानको दाबी छ। दैनिक बिक्रीबाट थप भएको आम्दानीको शतप्रतिशत रकम कृषकको भुक्तानीमा लगाइएको  छ।

कृषकलाई समयमै भुक्तानी गर्ने उद्देश्यले संस्थानले अनिवार्यबाहेकका अन्य खर्चमा समेत कटौती गर्दै कृषक भुक्तानीलाई प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रसँगको समन्वयमा काठमाडौं उपत्यकामा आठ वटा डेडिकेटेड बिक्री काउन्टर सञ्चालनमा ल्याएर बजार विस्तार तथा बिक्री प्रवर्द्धनलाई समेत तीव्रता दिइएको छ। यसैगरी, संस्थानले लामो समयदेखि बाँकी रहेको बक्यौता रकम असुलीमा समेत कडाइ गर्दै रकम संकलनलाई प्राथमिकता दिइएको छ।

संस्थानले कर्मचारीलाई दिँदै आएको सहुलियत दूध तथा घ्यूको सुविधामा समेत कटौती गरी वार्षिक करिब तीन करोड रुपैयाँ बराबरको अतिरिक्त बचत गर्न सफल भएको  छ। संस्थानका अनुसार उक्त बचतसमेत कृषक भुक्तानी व्यवस्थापनमा सहयोग पुगेको छ।

विशेषगरी, पछिल्लो अवधिमा नेपाल सरकारबाट कुनै पनि किसिमको सहुलियत कर्जा वा अनुदान नलिई संस्थानकै आन्तरिक सुधार, खर्च नियन्त्रण, बक्यौता असुली, मौज्दात व्यवस्थापन र आक्रामक बजारीकरणमार्फत कृषक भुक्तानीलाई सहज बनाइएको  छ। संस्थानले आगामी दिनमा बिक्री तथा बजार विस्तारलाई थप प्रभावकारी बनाउँदै कृषकलाई नियमित र समयमै भुक्तानी गर्ने वातावरण निर्माण गर्ने लक्ष्य लिइएको छ।

प्रतिक्रिया