कृष्णपुरका ५ जना बाढी–पहिरोपछि सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि नगरपालिका सक्रिय

theoutsidenepal.com

कृष्णपुरका ५ जना बाढी–पहिरोपछि सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि नगरपालिका सक्रिय

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ५ जना बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएका छन्। नगरपालिका प्रमुख हेमराज ओझाका अनुसार रसुवा विनाशकारी बाढी तथा पहिरोका क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा कृष्णपुर नगरपालिका–३ का रिकेश कुमार राना (३०), कालु राना (३१) र करेशन राना (२२), वडा नम्बर ४ का हिक्मतबहादुर पाल (२३) तथा वडा नम्बर ५ का रमेशराज जोशी (३३) रहेका छन्।

नगरपालिकाका अनुसार रिकेश, कालु र करेशन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत छन् भने हिक्मतबहादुर पाल र रमेशराज जोशी श्रीनाथ गण, नेपाली सेनामा कार्यरत छन्।

नगर प्रमुख ओझाले सम्पर्कविहीन पाँचै जनाको सकुशल उद्धार हुनेमा आफूहरू आशावादी रहेको बताएका छन्। उनले उनीहरूका परिवारजनले चितवन तथा काठमाडौंसम्म पुगेर खोजी तथा उद्धार अवस्थाबारे बुझ्न इच्छा राखेकाले नगरपालिकाले आवश्यक आवागमनको व्यवस्था मिलाएको जानकारी दिएका छन्।

नगरपालिकाले कृष्णपुरभित्रका अन्य कुनै नागरिक पनि बाढी तथा पहिरोका कारण सम्पर्कविहीन भएको जानकारी भएमा तत्काल सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रमुख वा नगर उपप्रमुखलाई जानकारी गराउन आग्रह गरेको छ। प्राप्त सूचनाका आधारमा नगरपालिकाले तत्काल सम्बन्धित व्यक्तिसँग सम्पर्क तथा खोजीका लागि पहल गर्ने जनाएको छ।

नगर प्रमुख ओझाले विपद्को यस कठिन घडीमा सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। सम्पर्कविहीन सबै नागरिक चाँडै सकुशल सम्पर्कमा आउने विश्वास व्यक्त गर्दै उनले भगवान्सँग प्रार्थना समेत गरेका छन्।

सम्पर्क: नगर प्रमुख हेमराज ओझा — 9858421990


प्रतिक्रिया