युवापलायन रोक्न स्पष्ट योजना र सक्षम नेतृत्व आवश्यक : सतेन्द्र शाह

theoutsidenepal.com

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका (NCC USA) का अध्यक्ष सतेन्द्र शाह ले देशबाट बढ्दो युवापलायनप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै अवसर सिर्जना गर्न स्पष्ट योजना र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालको सबैभन्दा ठूलो शक्ति युवा पुस्ता रोजगारी र सुरक्षित भविष्यको खोजीमा विदेशिन बाध्य भइरहेको उल्लेख गरे। “यो रहर होइन, बाध्यता हो,” उनले लेखेका छन्।


उनका अनुसार बसोबास, परिवारको उज्ज्वल भविष्य, स्वास्थ्य सेवा र आर्थिक स्थिरताका लागि धेरै नेपालीले विदेशमै स्थायी बसोबास (PR) र नागरिकता लिइसके पनि मुटुमा नेपालप्रतिको माया सधैं रहने गर्छ। विदेशमा बसे पनि नेपालीहरू मातृभूमिसँग भावनात्मक रूपमा जोडिएको उनले उल्लेख गरेका छन्।


अध्यक्ष शाहले देशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने, लगानीमैत्री वातावरण बनाउने तथा विदेशिएका नेपालीलाई स्वदेशसँग जोड्ने नीतिको खाँचो औंल्याए। “देश बिग्रँदा छोरा बाहिरिन्छ, देश बन्छ भने छोरा फर्किन्छ,” भन्ने सन्देश दिँदै उनले सचेत भई सोचेर निर्णय गर्न सबैलाई आग्रह गरेका छन्।


“एक पटकको नेपाली—सधैं नेपाली” भन्ने भावनासहित उनले राष्ट्रिय हितका विषयमा गम्भीर बहस र जिम्मेवार निर्णयको आवश्यकता रहेको बताएका छन्।


प्रतिक्रिया